कांग्रेस महासमिति बैठक : धर्म बहसदेखि माइक खोसाखोससम्म



काठमाडौं: ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारासहित शनिबारबाट सुरु भएको कांग्रेस महासमिति बैठक एकसाता लामो हुने भएको छ । बुधबारसम्म तोकिएको बैठक दुई दिन म्याद थप गरिए पनि शुक्रबार नटुंगिने देखिएको छ ।  

 

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जादिने कांग्रेसजनको अपेक्षा छ। बैठकका केही गतिविधि चर्चा योग्य छन्।

 

बिरुवामा पानी लगाएर उद्घाटन

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल कांग्रेसको  महासमिति बैठक सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा भव्य समारोहबीच शनिबार उद्घाटन भयो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको चुनाव चिन्ह रुखमा पानी लगाएर बैठकको शुभारम्भ गरे ।

 

उद्घाटन मञ्चको अग्रभागमा स्वर्गीय नेता बीपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बीर सजाइयो । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले महासमिति बैठकमा ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा राख्यो ।

 

बैठकमा सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक सहभागी भए ।

 

बाध्यतामा देउवा र पौडेलले हात मिलाए

२०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछिको यो पहिलो महासमिति बैठक हो ।  पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जा दिने विश्वास आम कांग्रेसीको छ ।  

 

बैठकको उद्घाटनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले हात मिलाएर बनावटी एकता देखाए । यो एकता दुई नेताका लागि बाध्यतात्मक परिस्थितिको थियो। उनीहरूले आफू खुसी हात मिलाएका थिएनन् ।  बैठकको सुरुवात गर्दै विजयकुमार गच्छदारले एकताको सन्देश दिन हातेमालो गर्न आग्रह गरे। तर, नेताले उनको कुरा सुनेनन्। पटक–पटक आग्रह गरेपछि उनीहरु बाध्यतामा परे र हात मिलाए ।

 

महासमितिमा धर्मको झिल्को

आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे । धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो। महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताएका थिए ।

 

बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ। हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार रहेका नेता राजुराज जोशीले गरिरहेका छन् ।  हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका अन्नपुर्णमा खवर छ ।  

 

चर्चामा माइककाण्ड

मंगलबार महासमिति बैठकमा माइक खोसाखोस भयो।  नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो ।

 

अस्तव्यस्त महासमिति

घोषित कार्यक्रमअनुसार बुधवार महासमिति सकिनुपर्थ्यो। तर, विधान मस्यौदा नै पेस हुन नसकेका कारण महासमिति बैठक शुक्रबार सकिनेमासमेत अन्योलता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्