संसद्को क्यान्टिनमा पनि विभेद !



काठमाडौं: संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ । आगामी बुधबारबाट चल्ने संसद् बैठकपछि सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चियाखाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो ।

 

संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिजालका अनुसार क्यान्टिनलाई व्यवस्थित गर्न छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको हो । ‘सांसदहरूले पटकपटक गुनासो गरेपछि नयाँ व्यवस्था गरिएको हो’, उनले भने ‘क्यान्टिनलाई २ भागमा विभाजन गरिएको छ, पूर्वपट्टि सांसदहरूका लागि छुट्याइएको छ भने पश्चिमपट्टि अन्यलाई व्यवस्था गरिएको हो।’

 

उनले खुला रहेको क्यान्टिनलाई हावाहुरी र पानी आउँदा पनि सुरक्षित हुने गरी क्यान्टिनलाई व्यवस्थित गरिएको बताए । आन्तरिक सेवा तथा योजना शाखाले गरेका यी कामबाहेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले टायल बिछ्याउने र मिलाउने काम गरेको छ। सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको छ ।

 

गत कात्तिक ४ गतेबाट अर्याल होटल इन्टरनेसनलले क्यान्टिन चलाउन थालेको छ। सिंहदरबार र संसद् भवनमा नै क्यान्टिन चलाएको उसले संसद् सचिवालयले क्यान्टिन व्यवस्थित गरिदिएको बताएको छ । संसद्भित्र प्रहरीले पनि सानो क्यान्टिन चलाएको छ। राष्ट्रियसभाको बैठक बस्ने भवनपछाडि पनि सुविधा सम्पन्न क्यान्टिन बनाउने सम्झौता भइसकेको सचिवालयले जनाएको छ ।

 

क्यान्टिनले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र संसद् सचिवालयका महासचिवलाई चियाखाजा पु¥याउन निश्चित कर्मचारी तोकेको छ । सधैं एकैजनाले लाँदा सजिलो हुने भएकाले यो व्यवस्था गरिएको सञ्चालकले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्