‘रौतहट नरसंहार’ काण्डमा तत्कालिन सिडियो भण्डारी पनि जेल जाने



काठमाडौं : नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री तथा सांसद मोहम्मद अफताव आलमको गिरफ्तारीसँगै राजपुर नरसंहार घटनाको प्रमाण नष्ट गर्ने रौतहटका तत्कालिन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दुर्गा भण्डारीसहित त्यतिबेला अनुसन्धानमा संलग्न अनुसन्धान अधिकृतहरु तानिएका छन् । उनीहरुलाई अब बयानका लागि बोलाउने तयारी भइरहँदा सरकारी वकिलको कार्यालय रौतहटले जेल जाने गरी आवश्यक प्रमाण जुटाउँदै अनुसन्धानलाई अगाडी बढाइएको बताइएको छ ।

राजपुर नगरपालिका–४ मा २७ चैत २०६४ मा भएको नरसंहार घटनाका प्रमाण नष्ट गर्ने, प्रतिबेदन एवं मुचुल्का कमजोर बनाउने, आलमलाई बचाउन मुद्दा कमजोर बनाउने कार्यमा संलग्न रहेको आरोपमा तत्कालिन प्रजिअ भण्डारी जेल जाने भएका हुन् ।

तत्कालिन एसपी लक्ष्मण न्यौपानेको टिकापुर घटनमा मृत्यु भइसकेको छ । सिडियो भण्डारी रौतहटबाट पर्सा गएका सरुवा भएका थिए । त्यतिबेला तत्कालिन राज्यमन्त्री करिमा बेगमले थपड हानेपछि थप चर्चामा आएका थिए ।

रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–४ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत २०६४ को साँझ ६ः१५ मा बम विस्फोट भयो ।

१०-१२ जनाभन्दा बढी मान्छे बम बनाउँदै गर्दा अचानक विस्फोट भई घाइते भए । घाइतेको उपचार गराउनुको साटो उनीहरुलाई सोही अवस्था इँटाभाट्टामा हालेर हत्या गर्ने घटनाका मुख्य नाइके आलम अहिले प्रहरी नियन्त्रणमा छन् ।

पहिलो संविधानसभा निर्वाचनको चुनावमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न बनाउँदै गरेको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हाल्ने काम आलमले नै गरेको पीडितहरुले उजुरी गरेका थिए ।

आलम, उनका भाई महताव आलम, शेख भदईन, शेख सेराज र शेख मोविविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको थियो ।

आलमलाई बचाउन कांग्रेस नेतृत्व भित्रभित्रदेखी नै लागेको आरोप समेत रहेको छ । पछिल्लो समय त्यसको बचाउमा कांग्रेस लागेको भन्दै समाजिक सञ्जालमा समेत आलोचना भएको छ । आलम आतंकको बचाउमा कांग्रेस लागेपछि त्यसको चौतर्फी विरोध एवं आलोचना शुरु भएको छ ।

‘राजपुर नरसंहार’ मा आलम निर्दोष रहेको बताउँदै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेतालाई फसाउन खोजेको आरोप सरकारमाथि लगाए । देउवाले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भयो । समाजिक सञ्जाल देखी पार्टी भित्र समेत विरोध हुन थालेपछि देउवाले अर्को विज्ञप्ती जारी गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्