नवदुर्गा गणलाई १२ वटा घ्याम्पो !



भक्तपुर: भक्तपुरको ऐतिहासिक नवदुर्गा गणका मानवरुपी देवतालाई बिहीबार घ्याम्पो चढाइएको छ। गणका १२ देवतालाई एकएक वटा घ्याम्पो चढाइएको हो ।

 

भक्तपुरका खाइतू थरका परिवारहरुले कमलविनायकस्थित नवदुर्गास्थित द्योछें देवता घरमा विधिपूर्वक विभिन्न पूजालगायतका अनुष्ठान गरी तामाको ठूल्ठूला घ्याम्पा चढाएका हुन्। भक्तपुर नगरपालिका ८ लिवालीस्थित नारायणप्रसाद खाइतूको अगुवाइमा घ्याम्पो चढाउने काम सम्पन्न भएको हो ।

 

नवदुर्गाका १२ देवगणलाई छुट्टाछुट्टै रुपमा एकएक घ्याम्पो चढाइएको हो। नवदुर्गाका भैरव, महाकाली, वाराही, गणेश, ब्रम्हायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रुपमा रहने देवगणलाई घ्याम्पो चढाइएको हो। प्रत्येक घ्याम्पोमा देवताको आकृतिसहित लिपि पनि कोरिएका छन् ।

 

ती घ्याम्पो देवताका व्यक्तिगत ढुकुटीका रुपमा प्रयोग हुनेछ। जात्रालगायतका पर्वमा उनीहरुले लगाउने चुरा, कलीलगायतका गरगहना राख्नको लागि ती घ्याम्पा प्रयोग गरिने जनाइएको छ। परापूर्वकालदेखि प्रयोग हुँदै आएको घ्याम्पो बिग्रेपछि आफूहरुले चन्दास्वरुप देवताका नाममा दानस्वरुप घ्याम्पो चढाइएको खाइतू परिवारले जनाएको छ । घ्याम्पो चढाउनुअघि खाइतू परिवार सयौंको लावालस्कर लिवालीबाट विभिन्न परिकारसहित देवताघर पुगेका थिए ।

 

काठमाडौं उपत्यका र उपत्यकाबाहिरका टोलटोलमा आठ महिना चल्ने नाचका देवगणहरु विभिन्न समस्यासँग जुध्दै आएका छन्। नाच पनि चन्दा उठाएर चलाउने गरिएको छ। प्रत्येक वर्ष माघ २ गतेदेखि आठ महिनासम्म चल्ने नाच मुकुण्डो लगाएका देवगणले भक्तजनसँग सहयोग मागेर चल्दै आएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्