टाउको दुखाइका प्रकारहरु र समाधानका उपाय



काठमाडौं : टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, त्यसैले यो संवेदनशील हुन्छ । टाउको दुख्नु साझा समस्याजस्तै भइसकेको छ । तर, यसका प्रकार फरक–फरक हुन्छन् । मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको छ ।

१ प्राइमरी हेडेक

टेन्सन हेडेक
यो सामान्य खालको टाउको दुखाइ हो । टाउको दुख्ने व्यक्तिहरू करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउको कसिएजस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई–तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलिकति शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । धेरै समयसम्म रहिरह्यो भने टाउको दुखाइ कम गर्ने औषधि र थेरापीमार्फत उपचार गर्न सकिन्छ । यस्तो खालको दुखाइ एन्टिमाइग्रेनल औषधिको सेवनबाट निर्मूल पार्न सकिन्छ ।

माइग्रेन
निकै कडा खालको दुखाइलाई माइग्रेन भन्छि । ३ घन्टादेखि ७२ घन्टासम्म यस्तो हुन सक्छ । माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । टाउकाको कुनै एक भाग अत्यधिक दुख्ने गर्छ । वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या देखिन्छन् । माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । सामान्यतया ६ जना महिलामध्ये एकजनामा माइग्रेनको समस्या हुन सक्छ भने २० जना पुरुषमध्ये एकजनामा यस्तो समस्या हुन्छ ।

अधिकांशमा टाउको दुख्ने समस्या सामान्य हो भन्ने भ्रम छ । टाउको दुखाइ अन्य रोगको लक्षण हुने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ ।

खासगरी अनिद्रा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषण, महिलामा महिनावारी हुनुभन्दा अगाडिर पछाडि, भिडभाड आदि विभिन्न कारणले माइग्रेन हुने गर्छ । कतिपयमा वंशाणुुगत गुणमा कारणसमेत माइग्रेन हुने गर्छ । माइग्रेनलाई औषधिको सेवनबाट नियन्त्रण गर्न सकिन्छ । कतिपयमा लगातार छोटो समयमा नै धेरैपटक माइग्रेन हुने भएकाले निकै असर पर्ने गर्छ । तसर्थ सुरुवातीको चरणमै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ ।

कलस्टर
दिमागमा रहेको हाइपोथाइलोरस तन्तुसँग जोडिएको हुनाले हरेकपटक एकै समयमा मात्र समस्या देखिन्छ । अर्थात्, यदि कुनै व्यक्रिमा वर्षायाममा टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही मौसमको सोही समयमा टाउको दुख्ने गर्छ । यस्तो समस्या एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ । यो निकै कडा खालको दुखाइ भएकाले आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने, छटपटी हुने हुन्छ ।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ ।

के गर्ने ?

अधिकांशमा टाउको दुख्ने समस्या सामान्य हो भन्ने भ्रम छ । टाउको दुखाइ अन्य रोगको लक्षण हुने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ । जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन । जसले स्वास्थ्यमा अन्य असर पार्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ ।

डा. दीपेश शाक्य
न्युरोलोजिस्ट
काठमाडौं मेडिकल कलेज
(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्