कांग्रेसमा ‘पदाधिकारी’ विवाद कायमै



काठमाडौं: नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति खोज्न शीर्ष नेताको प्रयास जारी छ ।

 

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा सहमति भएको थियो । उक्त सहमतिमा बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा केही केन्द्रीय सदस्यले समावेशीतालाई सम्बोधन गर्नुपर्ने माग गरेपछि त्यसलाई समेट्नेबारेमा छलफल जारी छ ।

 

शीर्ष नेतृत्वले यसअघि विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समिति हुने सहमति भएको थियो ।

 

बिहीबार यसअघिको सहमतिबाहेक एक उपसभापति सभापतिबाट मनोनीत हुनुपर्ने र सहमहामन्त्रीको सङ्ख्या सात पुर्‍याइ समावेशीताका ‘क्लष्टर’ राख्नुपर्ने प्रस्तावमा छलफल भए पनि सहमति हुन सकेको छैन ।

 

महासमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा

 

काङ्ग्रेस महासमिति बैठक बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । गत मङ्सिर २९ गतेदेखि जारी महासमिति बैठक बुधबारसम्म सिंहदरबार पश्चिम गेटअघिको एक पार्टी प्यालेसमा हुँदै आएको थियो । महासमिति बैठकका लागि पार्टी प्यालेसमा रिजर्भ गरिएको निर्धारित समय समाप्त भएपछि बैठक स्थल सारिएको हो ।

 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिको निर्धारित बैठक अवधिमा छलफल गर्न समय अपर्याप्त भएकाले बैठक लम्बिएको बताए । गत मङ्सिर २९ गतेदेखि शुरु महासमिति बैठकमा निर्धारित अवधिभन्दा थप तीन दिन लम्बिएको छ । बैठक पुस ६ गतेसम्म चल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्