नवदुर्गा देवगणलाई तामाको १२ घ्याम्पो



भक्तपुर : ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्त्वको प्रसिद्ध नवदुर्गा देवगणलाई १२ वटा तामाको घ्याम्पो (स्थानीय भाषामा सिज ट्यपो) चढाइएको छ।

 

 मल्लकालीन नवदुर्गा नाचका देवगणको ढुकुटीको रूपमा रहेको घ्याम्पो जीर्ण  भएपछि स्थानीय खाइतू परिवारले चन्दा संकलन चढाएका हुन्।  भक्तपुरको गछेँस्थित देवता घर (नवर्दुगा द्योछेँ)मा विधिपूर्वक पूजा गरी बिहीवार घ्याम्पो चढाइएको हो। 

 

देवघर परिसरमा तान्त्रिक विधि विधान अनुसार पूजा गरी देवगणलाई भोजसहित दही र अण्डा सगुनसहित घ्याम्पो चढाइएको थियो।  भक्तपुर नगरपालिका– ८ लिवालीस्थित नारायणप्रसाद खाइतूको अगुवाइमा नवदुर्गा देवगणका १२ देवतालाई एक एक वटा घ्याम्पो (चढाइएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्न बनमालाले जानकारी दिए। 

 

‘नवर्दुगा देवगणहरूका भैरव, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, महाकाली, वाराही, दुम्भसिंह, महादेव र श्वेतभैरव गरी प्रत्येक देवगणलाई एउटा एउटा तामाको घ्याम्पो चढाइएको हो', सचिव बनमालाले भने, 'प्रत्येक घ्याम्पोमा देवताको आकृतिसहित संक्षिप्त जानकारी समेत अंकित गरिएको छ।’ 

 

देवगणले लगाउने विभिन्न गरगहना, चुरा, हातखुट्टामा कली (धातुबाट बनेका ठूल्ठूला चुरा) लगायतका गरगहना घ्याम्पोमा राख्ने चलन छ। भक्तपुरको धरोहरका रूपमा रहेका नवदुर्गा देवगणको घ्याम्पो बिग्रेर समस्या भएकाले आफूहरूले देवताका नाममा  घ्याम्पो किनेर चढाइएको दाता नारायणप्रसाद खाइतूले बताए।  

 

नवदुर्गा नाच करिब आठ महिना निरन्तर चल्छ। विजयादशमीको दिन सिद्ध प्राप्ति गर्ने नवदुर्गा देवगणले भक्तपुरका विभिन्न १९ स्थान लगायत काठमाडौं उपत्यकाका जयबागेश्वरी, मध्यपुर थिमि, साँखु, काभ्रेको बनेपा, पनौती, साँगा, नाला, खर्पु र श्रीखण्डपुरलगायतका स्थानमा नाच प्रदर्शन गर्न जाने चलन छ।  प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपालभाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ 'माछा मार्ने' हो।

 

प्रतिक्रिया दिनुहोस्