धर्मशाला ठेक्काबारे पशुपति क्षेत्र विकास कोष भन्छ–’तीनतारे होटेल होइन, त्योसरहको उच्च सुविधा हो’



काठमाडौं : धर्मशाला निजी होटललाई ठेक्कामा दिएको पशुपति क्षेत्र विकास कोषले तीर्थयात्रीको खर्च गर्ने क्षमता बढेकाले होटेलस्तरको उच्चकोटीको सुविधासहित सञ्चालन गर्न लागिएको दाबी गरेको छ । भारत सरकारले कमजोर आर्थिक क्षमताका तीर्थयात्रीलाई सुलभ दरमा बस्न २४ करोड अनुदानमा धर्मशाला बनाइदिएको थियो । अनुदानमा बनाइएको धर्मशाला पनि होटेल संचालनका लागि ठेक्कामा दिइएको समाचार नयाँ पत्रिकाले बिहिबार प्रकाशित गरेका थियो ।

‘बाथरुमसहितको कोठामा बस्न चाहने तीर्थयात्रीको प्रवृत्ति र क्षमता देखिएकाले रूपान्तरणसहित संरचना सुधारिएको छ,’ कोषका सदस्यसचिव डा। प्रदीप ढकालले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायतको पक्ष होटलस्तरको उच्चकोटीको सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी सञ्चालन व्यवस्था गरिएको छ ।’

धर्मशालालाई होटेल बनाएपछि तीर्थालु तथा पर्यटकबाट उठाइने शुल्कबारे भने सदस्यसचिव ढकालले स्पष्ट पारेका छैनन् । काठमाडौँमा होटलको अभाव भएर होइन, शुलभ दरमा तीर्थालु तथा पर्यटकहरूलाई बस्ने सुविधा होस् भनेर धर्मशाला बनाइएको हो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए । तर, सञ्चालनमा नआउँदै कोषले धर्मशाला निजी कम्पनीलाई हस्तान्तरण गरेको छ ।

होटेल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तीर्थालुसँग प्रतिरात दुई हजार नौ सय रुपैयाँ लिन सिफारिस गरेको छ । त्यही सर्तमा कोषले होटेल आनन्दलाई ठेक्का दिएको हो । तर, होटेलले सिफारिस गरिएको भन्दा पनि शुल्क थपेर दररेट तोक्ने तयारी गरिरहेको कोषका सूचना अधिकृत प्रेमहरि ढुंगानाले बताएका थिए ।

कोष र होटेल आनन्दबीच भएको सम्झौताअनुसार बतासले अबको १५ वर्षसम्म धर्मशाला सञ्चालन गर्न पाउनेछ । आगामी मंसिरबाट धर्मशाला सञ्चालनमा ल्याउने तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्