गौर हत्याकाण्ड : उपप्रधानमन्त्री यादव पक्राउ पर्नसक्ने प्रधानमन्त्रीको खुलासा



यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्धको जाहेरी जिल्ला अदालत रौतहटमै १३ वर्षदेखि विचाराधीन छ ।

काठमाडौं : तत्कालिन सभामुख कृष्णबहादुर महरादेखि पूर्व मन्त्री तथा सांसद मोहमद अफताव आलमसम्म आइपुग्दा धमाधम भीभीआइपीहरु एकपछि अर्को गर्दै पक्राउ पर्न थालेपछि अहिले गौर हत्याकाण्डका मुख्य नाइके मानिएका उपप्रधानमन्त्री उपेन्द्र यादव तर्फ निसाना सोझिएको छ ।

सरकारको पनि विरोध गर्ने तर सरकारमा नि बसिरहने यादवले दोहोरो चरित्र देखाइरहेको भन्दै सरकारबाट बाहिरन पार्टी भित्रै दवाव बढिरहेको बेला गौर हत्याकाण्डमा जोडिएका यादव यो काण्ड फेरी सतहमा आएपछि अप्ठ्यारोमा परका छन् ।

१२ वर्षपछि रौतहटको राजपुर नरसंहार काण्डमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता आलम पक्राउ परेसँगै १३ वर्ष अगाडी रौतहटकै सदरमुकाम गौरमा भएको हत्याकाण्ड पनि फेरी चर्चामा आएको हो । यसले अहिले सत्तारुढ दल समाजवादी पार्टी भित्र समेत हलचल पैदा गरेको छ ।

यसरी गौर हत्या काण्डका विषयमा मुख्य नाइके भनिएका उपप्रधानमन्त्री यादवलाई कारबाही हुन्छ कि हुन्न भनेर प्रश्न उठिरहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले ‘गौर हत्याकाण्ड’ को पनि छानविन हुनसक्ने बताएका छन् । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टीका सचिवालय सदस्य समेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले अर्का उपप्रधानमन्त्री यादवमाथि कारबाही हुन सक्ने खुलासा गरेपछि राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेश उडेको भोलिपल्टै कार्यवाहक प्रधानमन्त्री पोखरेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

विराटनगर विमानस्थलमा आज (शुक्रबार) पत्रकारसँग कुरा गर्दै पोखरेलले गौर हत्याकाण्डको पनि छानविन हुन सक्ने बताए । बिगतमा भएका भएका जुनसुकै आपराधिक घटनाको छानविन हुने उनले बताए ।

रक्षा मन्त्री समेत रहका पोखरेलले हत्या हिंसाको जुनसुकै आपराधिक घटनाको छानविन हुनसक्ने बताउँदै जनयुद्धलाई अपराधको रुपमा बुझनु आवश्यक नभएको बताए ।

उपेन्द्र यादव पक्राउँ पर्न सक्ने
धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अहिले अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् ।
रौतहटको १३ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दवाव प्रहरीमाथि परेको छ । अहिले कार्यवाहक प्रधानमन्त्री रहेका पोखरेलले गौर हत्या काण्डको छानविन हुनसक्ने बताएसँगै सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तनावमा परेका छन् ।

यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ । हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्धको जाहेरी जिल्ला अदालत रौतहटमै १३ वर्षदेखि विचाराधीन छ ।

७ चैत २०६३ मा गौर नरसंहार भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या भएको थियो । माओवादी कार्यकर्ताहरुलाई लखेटी लखेटी बिभत्स ढंगले हत्या भएको थियो । त्यो घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता यादवविरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए ।

तर, अहिलेसम्म सो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन । आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जान थालेका छन । तराई मधेसमा माओवादीलाई भगाएर आफ्नो राजनीति स्थापित गराउन उपेन्द्र यादबको निर्देशनमा गौर हत्याकाण्ड भएको थियो ।

पीडितहरुले दबाब दिएमा यादवलाई पक्राउ गर्न प्रहरी बाध्य हुने अवस्था छ । स्रोतका अनुसार आलममाथिको अनुसन्धान सकिए लगत्तै सो घटनाको अनुसन्धान समेत सुरु गर्ने प्रहरीको तयारी छ । जसमा उपेन्द्र यादवलगायत तत्कालीन फोरमका धेरै नेता पक्राउ पर्ने निश्चित देखिन्छ ।

यसरी भयो ‘गौर हत्याकाण्ड’
वि.सं. २०६३ साल चैत्र ७ गते (सन् २००७ मार्च २१) रौतहटको गौरस्थित राईसमिलमा तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्ने कार्यक्रम बनाए ।

कार्यक्रममा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाइते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ को रुपमा बुझने गरिन्छ ।

पर्सा, बारा र रौतहटमा रयाली गर्ने मधेशी जनाधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला स्तर समितिले २१ मार्चमा गौरको धान मिल क्षेत्रमा र्यालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्ने अग्रिम तयारी थालेको थियो ।

मधेशी जनाधिकार फोरमको यो निर्णयको एक हप्तापछि नेकपा माओवादीले पनि सोहि ठाउमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो । रयालीको दुई दिन अघि देखि नै तनावको सिर्जना हुने गरेको थियो । दुबै पक्षले सभाका साथै भिडन्त भए त्यसका लागि अग्रिम तयारी समेत गरेको थियो ।

झन्डै १५०० देखि ४००० को संख्यामा फोरमका समर्थकहरू बिहान देखिनै खडा र बासको फाटा सहित जुलूस र रयालीका लागि गौर आईपुगेका थिए । गौरमा आईपुगेका फोरमका कार्यकर्ताहरु माओवादी कार्यकर्तासंग भिड्ने तथा आक्रमण गर्ने तयारीका उपस्थित थिए ।

माओवादीका केहि कार्यकर्ताले पनि बन्दूक र सकेट बम, साथै अन्य विस्फोटक उपकरणसंग उपस्थित थिए । यसरी झन्डै दिउसो १ः४५ बजे, १५ जना हतियारधारीहरुले माओवादीको कार्यक्रम विथोल्ने तथा तनावपूर्ण स्थितिको सिर्जना गरे र परिणाम स्वरूप हत्याकाण्ड भयो ।

प्रतिक्रिया दिनुहोस्