अदालतको मानहानिमा देउवाविरुद्धको मुद्दा खारेज



काठमाडौं :  अदालतको मानहानि आरोपमा कांग्रेस सभापति शेरहादुर देउवाविरुद्ध परेको मुद्दा खारेज भएको छ । देउवाविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अवहेलनासम्बन्धी निवेदन खारेज गर्ने फैसला गरेको हो ।

देउवा नेतृत्वको तत्कालीन सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । अदालतमा निवेदन परेपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सरकारी निर्णय बदर गरिदिएको थियो ।

 

उक्त फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको कांग्रेसको धारणा आएपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले २०७३ चैतमा सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । कांग्रेस केन्द्रीय समितिको निर्णयले अदालतको अपमान गरेको उनको ठहर थियो ।

प्रतिक्रिया दिनुहोस्