दलित बस्तीमा दुई सातादेखि ज्वरोको प्रकोप, ५० जना बिरामी



सिरहा : सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित दलित बस्तीमा पछिल्लो दुई हप्तादेखि ज्वरोको प्रकोप फैलिएको छ । ज्वरोले १० महिने बालबालिकादेखि वृद्धवृद्धासम्म थलिएका छन् । आफ्नै स्वामित्वको जग्गा नहुँदा ऐलानी र व्यक्तिको निजी जग्गामा बस्दै आएका मुसहर समुदायले चरम गरिबीका कारण उपचारसमेत पाउन सकेको छैन ।

लहानको मुख्य बजारबाट करिब नौ किलोमिटर उत्तर पर्ने ढोढनाको लग्राहा ९सिसवनी० गाउँमा ३७ घरधुरीको दलित बस्तीमा करिब ५० जना ज्वरोले थलिएका छन् । स्थानीय सूर्जीदेवी सदायले पछिल्लो नौ दिनदेखि घरमा २३ वर्षीय छोरा देव सदाय, एक वर्षीया नातिनी बेचनी र चार वर्षीय नाति सञ्जय ज्वरोले थला परेको बताइन् । ‘गाउँमा सरसापटी गरेर औषधि उपचार गरायौँ । तर, ज्वरो दोहोरिएको छ,’ उनले भनिन्, ‘पैसा नहुँदा राम्ररी उपचार गराउन सकिएको छैन ।’

उनका छिमेकी राजकुमार सदायले पनि घरका सातजनामध्ये आफूबाहेक सबैजना ज्वरोले थलिएको बताए । सदायका अनुसार पछिल्लो दुई हप्तादेखि उनकी पत्नी अरहुलिया, चार भाइ छोरा अजय, विजय, सञ्जय, मनोज, छोरी बबिता र दुई वर्षीया नातिनी एलिसा बिरामी परेका छन् । ‘मजदुरी गरेर हातमुख जोर्नुपर्छ, जचाउन लैजान सकिनँ । छिमेकी गाउँको मेडिकलमा सोधेर किनेको औषधि खुवाउँदै छु, ज्वरो घटेको छैन ।’

मजदुरी गरेर जीविका चलाउँदै आएका सिसवनी गाउँका ३१ वर्षीय जितन सदाय एक हप्तादेखि बिरामी परेपछि दुई छाक टार्नसमेत धौ–धौ परिरहेको पत्नी झालो सदायले गुनासो गरिन् । ‘दूध चुस्दै गरेकी १० महिनाकी छोरी रेणुलाई पनि चार दिनदेखि ज्वरो आएको छ,’ उनले भनिन्, ‘गरिबीका कारणले उपचार गराउन सकेकी छैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मणिलाल विश्वकर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्