खल्तीमा राखेर गैंडाको खाग तस्करी, किनबेचमा संलग्न ६ जना पक्राउ



काठमाडौं: महानगरीय अपराध महाशाखाले दुर्लभ वन्यजन्तु गैंडाको खाग बेचबिखनको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष प्रहरीको टोलीले शंस्कास्पद व्यक्तिसँग चेकजाँच गर्दा मीनलाल रानाको पाइन्टको गोजीमा खाग फेला परेको महाशाखाले जनाएको छ । एक समूह नै खाग बोकेर बेचबिखनमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले खाग बेचबिखनमा संलग्न रहेको आरोपमा तनहुँ घर भएका रानाका साथै गोरखा सुलिकोट गाउँपालिकाका किरण अमगाई, ताप्लेका सुदीप दियाल, सुलिकोटका चित्रबहादुर बराम, ताप्लेका पमबहादुर परियार र ताप्लेकै सरोज विकलाई पक्राउ गरेको हो ।

 

महाशाखाका एसएसपी धीरज सिंहले केही मानिसले गैंडाको खाग बोकेर बेचबिखन गर्ने भनी हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा विशेष प्रहरीको टोली खटाएको र उनीहरूले खाग बेचबिचनमा संलग्नलाई पक्राउ गरेको जानकारी दिए ।

 

पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । वन्यजन्तु बेचबिखनमा संलग्नलाई १० लाखसम्म जरिमाना र १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुर गर्नेलाई ५ लाखदेखि १० लाखसम्म जरिमाना तथा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्