आन्तरिक विवादले राजपामा तनाव



काठमाडौं: आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेता अलमलमा परेका छन् । सरकारलाई दिएको समर्थन दसैं, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन । गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

 

ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ ।

 

महतोलाई संयोजक तोक्ने बैठकमा ठाकुरको आपत्ति नभए पनि उनको नियुक्ति खारेज गरेकामा आपत्ति रहेको स्रोतले जनायो । बैठकबाट भएको निर्णय ठाकुरले स्वीकार गरे पनि आफू निकटका नेतालाई उकास्ने काम गरेको आरोप अरू नेताको रहेको छ ।

 

राजपा नेपालको आन्तरिक विवादका कारण एकता महाधिवेशन पनि प्रभावित हुने निश्चित भएको छ । तोकिएको समयमै सदस्यता वितरण, जिल्ला एवं स्थानीय तह कमिटीको अधिवेशन एवं प्रतिनिधि छनोटलगायत काम आन्तरिक विवादकै कारण पर धकेलिएपछि महाधिवेशन पनि अनिश्चित बन्दै गएको छ ।

 

यसैगरी, छठ पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत निर्णय भएको छैन । संविधान संशोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी यसअघि राजपा नेपालले दिएको थियो । तर, बैठक नै अनिश्चित बनेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा समेत नेताहरू अलमलमा परेका छन् । सरकारलाई दिएको समर्थन, आन्तरिक विवाद समाधान, महाधिवेशन, संगठन निर्माणलगायतका विषयमा निर्णय गर्न यसअघि बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भयो ।

 

अध्यक्ष मण्डलका सदस्य ठाकुर बिरामी भएकाले उपचार गराउन दिल्ली गएका थिए । दिल्लीमा उपचार गराएर दुई साताअघि नेपाल फर्के पनि बैठक बस्न सकेको छैन् । यसबीचमा उनी जनकपुरसहित विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भए पनि बैठकमा सहभागी हुन चाहेका छैनन् । ठाकुरकै आलटालले बैठक पर धकेलिँदै गएको छ ।

 

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । यसअघि पनि अन्य नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै आएका थिए । ‘अब यो सरकारलाई दिएको समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन,’ सहअध्यक्ष कर्णले भने, ‘पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

 

आफूहरूले सरकारमा जान समर्थन नगरेको बताउँदै उनले संविधान संशोधन र झुटा मुद्दा फिर्ता हुने सर्तसहित सरकारलाई समर्थन गरेको बताए । तर, सरकारले अहिलेसम्म आफूहरूसँग छलफलसमेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । राजपा नेपालका महासचिव केशव झाले पार्टीमा कुनै किसिमको विवाद नभएको बताए । छिट्टै नै अध्यक्ष मण्डलको बैठक बस्ने बताउँदै अहिलेको वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल गर्दै ठोस निर्णय गर्ने बताए ।

 

‘मिडियामा आए जस्तै पार्टीमा कुनै विवाद छैन, छिट्टै नै अध्यक्ष मण्डलको बैठक बस्दै छ,’ झाले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने र महाधिवेशनसहित हरेक विषयमा ठोस निर्णय गरेर अगाडि बढ्छ ।’ राजपा नेपालका महासचिव अजय गुप्ताले पार्टीमा कुनै विवाद नभएको बताए । बाहिर चर्चा गरिए जस्तै कुनै किसिमको विवाद नभएको बताउँदै उनले छिट्टै नै बैठक बस्ने बताए । ‘मधेसको सच्चा पार्टी भनेकै राजपा नेपाल हो, मधेसी जनताको आशाको केन्द्रबिन्दु राजपा नेपाल रहेकाले विवाद छ भनेर गतल प्रचार गर्न खोजिँदै छ,’ गुप्ताले भने, ‘पार्टीको बैठक छिट्टै बस्नेछ र हरेक विषयलाई केलाएर छलफल गर्दै निर्णय गरी अगाडि बढ्नेछौं ।’

 

राजपा नेपालले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संविधान संशोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर छठ पछि आन्दोलनमा जाने चेतावनी दिएको थियो । आगामी ७, ८ र ९ वैशाखमा राजपा नेपालको एकता महाधिवेशन हुने तय भएको र त्यसको तयारीका विषयमा छलफल गरिने अगामी बैठकको एजेन्डा रहेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्