काठमाडौं : सिताराम पण्डित (कुम्हार) लाई यतिवेला गफ पनि समय हुँदैन। सप्तरको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाका सिताराम उमेरले ६१ वर्ष नाघिसकेका छन्। तर, कामको चाप कम भएको छैन।
पण्डित बिहान नहुँदै माटो संकलन गर्ने, मिलाउने र चाक (माटाका सामाग्री तयार पार्ने यन्त्र) मा हालेर माटालाई अनेको अनेक आकारमा ढाल्ने काममा लाग्छन्। छठ पर्वमा प्रयोग हुने दियो, माटाको हात्ती, मटकुरी (दहि जमाउने भाँडो), धुपदानी लगायत भाँडाको बिक्री हुने माटाका भाँडावर्तन तयार गर्न उनलाई भ्याइनभ्याई छ।
‘चाडपर्वको समय भएकाले अलि धैरै नै काम गर्नुपर्छ, पछिल्लो एक सातादेखि काममा व्यस्त छु’, उनले भने,‘पुर्ख्यौली पेशालाई निरन्तरता दिएरै आफ्नो जिविकोपार्जन गर्दै आएको छु।’
तर, पुर्ख्यौली पेशातर्फ युवाहरुको लगाब नहुँदा यो उमेरमा पनि आफैँलाई सबैथोक गर्नुपर्ने वाध्यता रहेको उनी बताउँछन्। ‘काम धेरै र आम्दानी थोरै हुने भएकाले यो पुर्ख्यौली पेशातर्फ युवाहरुको रुचि नै देख्दिन’, उनले भने,‘सरकारले पनि आफुहरुको पेशा संरक्षण गर्नेतर्फ ध्यान पुर्याएको छैन्।’
युवाहरुमा देखिएको आत्मविश्वासको कमिले भविष्यमा आफुहरुको पेशा नै संकटमा पर्ने सम्भावना पनि रहेको दुखेसो उनले पोखे। ‘हाम्रो पुस्तासम्म त चलेकै छ तर अबको पुस्ताले यो पेशालाई निरन्तरता दिन्छ जस्तो छाँटकाँट नै देखिदैन’, उनले भने,‘यही सोचेर बेलाबखत चिन्ता पर्ने गरेको छ।’
सखुवाकै ६२ वर्षे बद्री पण्डितलाई पनि यस्तै व्यस्तता र चिन्ता रहेको छ। चाकमा बसेर काम गरिरहेका पण्डितले मुलुक संघीयतामा गएसँगै आफुहरुको पुर्ख्यौली यो पेशा संरक्षणतर्फ पहल हुने आशा पलाएको बताए।
‘गाउँगाउँमा सिंहदरबारको अधिकार आएपछि केही हुन्छ भने आशा पलाएको थियो’, उनले भने,‘तर स्थानीय सरकारले पनि कुम्हार (कुमाले) समूदायको पेशा संरक्षण–सम्वर्धनतर्फ ध्यान दिएनन्।’
१४ घरपरिवारको बसोवास रहेको कुम्हार बस्तीमा माटो र दाउरा अभावका कारण अहिले ३\४ परिवार यसअघि नै पुर्ख्यौली पेशाबाट विस्थापित भइसकेका छन्। पेशामा संलग्न रहेको परिवारबाट पनि ६\७ जना युवाहरु विदेश पलायन भइसकेकोसमेत पण्डितले जानकारी दिए।
‘हाम्रो पेशा जमिन र जङ्गलमै आधारित हुन्छ, बढ्दो जनसंख्याले ती दुवै कुरा अभाव हुँदै गएकोले पेशा पनि संकट परेको छ’ उनले थपे,‘कतैबाट केही नभएपछि युवाहरु पनि विदेश पलायन हुन थाले।’ अन्नपूर्ण पोष्ट दैनिकबाट