नवौँ तला सिल गरेर प्रधानमन्त्रीको उपचार, स्वास्थ्यबारे सूचना नचुहाउन ह्विप नै जारी



काठमाडौं : अस्पतालमा प्रधानमन्त्री ओलीका दुई दिन

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो । रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको खकार, पिसाबलगायत आवश्यक स्वास्थ्य जाँच गरियो । चिकित्सकका अनुसार क्रेटानिनको मात्रा बढी देखिएको थियो । तत्कालै उपचार गर्नुपरेपछि चिकित्सकले अल्ट्रा–फिल्ट्रेसनमार्फत शरीरको पानी सफा गरेका थिए । 

अस्पतालको नवौँ तला सिल

प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा. दिव्या सिंहको नेतृत्वमा उपचार गरिएको थियो । अस्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चिकित्सकहरूले बताए । त्यहाँ सीमित सुरक्षाकर्मी र उपचारमा आवश्यक पर्ने चिकित्सकलाई मात्रै जान दिइएको थियो । डा. दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा. सुवास आचार्यलगायत केही मेडिकल अफिसर उपचारमा खटिएको अस्पताल स्रोतले जनायो । 

ह्विप जारी

स्रोतका अनुसार स्वास्थ्यबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनीनिकटले ह्विप नै जारी गरेका थिए । उपचारमा संलग्न एक चिकित्सकले बिहीबार दिउँसो पत्रकारसँगको भेटमा भनेका थिए, ‘हामीलाई केही थाहा छैन मात्रै भन्नु भन्ने आदेश छ । त्यसैले उहाँबारे हामीलाई केही थाहा छैन ।’ बिहीबार अस्पताल पुगेका नेकपा नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन् । 

दिउँसो ३ बजे नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए । उनले झन्डै एक घन्टा अस्पतालमा बिताए । प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको भन्दै उनी बाहिरिएका थिए । मिडियाको दबाबका बीच अस्पतालले साँझ ५ बजे पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो । औपचारिक जानकारी दिए पनि अस्पतालले नियमित डायलाइसिस गर्ने या नगर्नेबारे निर्णय दिन सकेन । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्