प्रधानमन्त्रीका चिकित्सक भन्छन्, ‘केही कुरामा गोपनीयता पनि त हुन्छ’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई दुईपटकको हेमोडायलासिसपछि बिहीबार बेलुका डिस्चार्ज गरिएको हो।

प्रधानमन्त्री ओलीको रगतमा बढेको हानिकारक तत्व क्रियाटिनिन हटाउन बुधबार र बिहीबार गरी दुईपटकसम्म हेमोडायलासिस गरिएको थियो ।

ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक रहेको बताए । डा. पाण्डेले भने, ‘उहाँको रगतमा बढेको क्रियाटिनिनलाई क्लियर गर्न दुईपटक हेमोडायलासिस गरिएको छ । उहाँ अब स्वस्थ हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीको रगतमा क्रियाटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस थालिएको हो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो मिर्गौलामा समेत समस्या आउन थालेको छ । उनले गत भदौमा सिंगापुर गएर ‘प्लाज्माफेरेसिस’ गरेका थिए । रगतमा ‘एन्टिबडी’ बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो ।

अस्पतालका निर्देशक डा. पाण्डे भन्छन्, ‘सबै कुरा बाहिर ल्याउनु हुँदैन । केही कुरामा व्यक्तिगत गोपनीयता पनि त हुन्छ नि ।’ आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्