आयल निगमले चितवनसम्म ग्यास र इन्धन पाइपलाइन बनाउने



काठमाडौं : नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ ।

अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन निर्माण थाल्ने भएको हो । केहि दिन अघि आपूर्ति मन्त्री मातृका यादवले दुवै परियोजनाको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।

चितवनको लोथरसम्म इन्धन र ग्यासको पाइपलाइन विस्तार गर्ने योजनामा रहेको निगमले लोथरमै भण्डारण गर्ने पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले सर्वेक्षणको समयावधि सकिएको बताए । उनले पाइपलाइन विस्तारका क्रममा लाग्ने खर्च र भण्डारणको लागत खर्च यकिन गर्न भारतीय आयल कर्पोरेसन्स र निगम बसेर लगानी प्रक्रियाबारे टुंगो लाग्ने बताए ।

निगम र आईओसीको संयुक्त अध्ययन टोलीले ४ प्रकारका सर्वेक्षण गरी चितवनको लोथरसम्म एलपी ग्यासको पाइपलाइनसँगै भण्डारण पनि बनाउने छ । यस परियोजनाअन्तर्गत अमलेखगञ्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइनको लम्बाइ ६२ किलोमिटर हुनेछ ।
यादवले भने ‘पाइपलाइनमा लगानी आईओसीको पनि हुन्छ ।’ नेपाल भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने छ । पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने निगमले जनाएको छ ।

पाइपलाइनसँगै लोथरमा इन्धन भण्डारण गर्न डिपो पनि निर्माण गरिने छ । लोथरमा १ लाख किलोलिटरको इन्धन भण्डारण बनाइने छ । एलपी ग्यास २० हजार टन क्षतमाको बनाइने र यस परियोजनाको लागत विस्तृत सम्भाव्यता अध्ययनबाट मात्रै यकिन हुने निगमले विज्ञप्ती जारी गरेर जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले पाइपलाइन विस्तारको कामलाई क्रमशः अघि बढाउने र अमलेखगञ्जबाट द्रुतमार्ग हुँदै काठमाडौंसम्म पु-याउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । उनले चितवनसम्मको पाइपलाइन मोतिहारी–अमेलखगञ्ज पाइपलाइन परियोजना जस्तै समय अवधिमै काम सम्पन्न हुने बताए । काराेबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्