भारतबाट आयात हुने केरामा रोक लगाउन माग



कैलाली । कैलाली र कञ्चनपुर, बाँके, बर्दियाका व्यावसायिक केरा खेती गर्ने कृषकहरुले भारतबाट आयात हुने केरामा रोक लगाउन माग गरेका छन् । 

भारतबाट केरा आयात हुँदा स्थानीय उत्पादनले बजार नपाएको भन्दै उनीहरुले केरा आयातमा रोक लगाउन माग गर्दै दबाब मूलक कार्यक्रम शुरु गरेका छन् । 

भारतबाट आयातित केराको विषादी, रोग तथा किराको परिक्षण नगरी सेनेटरी तथा फाइटोसेनेटरी प्रमाण पत्र अन्तर्गत अपनाउनु पर्ने मापदण्ड पूरा नगरिएकाले यथाशिघ्र आयातमा रोक लगाउनु पर्ने उनीहरु माग छ ।

 

 कम लागतमा भारतबाट केरा भित्र्याउने परिपाटीको अन्त्यका लागि विश्व व्यापार सङ्गठनको नियमअनुसार हाल केरामा कायम रहेको पाँच प्रतिशत भन्सार दरलाई २५ प्रतिशतमा बृद्धि गरी ‘डम्पिङ्ग’ गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने माग गरेका छन् । 

आयातित वस्तुको भन्सारमै कडाईका साथ चेकजाँच गरिनु पर्ने, कैलाली कञ्चनपुरमा फष्टाईरहेको विलियम हाइब्रेड, जी नाइन, माल भोग र हरिसाल जातको केरालाई सूचिकृतका लागि पहल गरिनु पर्ने माग केरा कृषकहरुको छ ।

 यस्तै कैलाली र कन्चनपुर  जिल्लामा केराको जोन बनाउनका लागि आवश्यक मापदण्ड पूरा भएकाले यथाशिघ्र केराको जोन घोषणा गरी कार्यक्रम लागू गर्नका लागि पहल गर्न प्रदेश सरकारसंग आग्रह गरेका छन् ।

 

 भारतबाट सस्तोमा आयात भइरहेको केराले यहाँका कृषक धरासयी हुने अवस्थामा पुगेको कृषक लक्षिराम आचार्यले बताए । माग पूरा नभए सङ्घर्षमा उत्रिने केरा किसानले चेतावनी दिएका छन् ।

 

केरा कृषक सङ्घर्ष समिति कैलाली, कञ्चनपुर, केरा विकास सञ्जाल कैलाली, केरा उत्पादन तथा प्रर्बद्धन कृषि सहकारी संस्था, राष्ट्रिय कृषक समूह महासंघ नेपाल कञ्चनपुरको अगुवाइमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । यस्तै उनीहरुले बाँके जिल्ला का प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र पनि बुझाएका छन्  । 

 

कैलाली, कञ्चनपुरमा गरेर साढे दुई हजार कृषक व्यवसायिक केरा खेतीमा सक्रिय रहेको केरा कृषक सङ्घर्ष समितिका संयोजक सुरेन्द्रकुमार चौधरीले बताए । दुवै जिल्लामा गरी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्