निजी मन्दिर सरकारको उत्कृष्ट सय गन्तव्यमा !



बझाङ : परालका कुन्युँले घेरिएका ३ वटा पैयुँका रूख । फेदमा करिब ३ फिट अग्लो गजुर आकारको ढुंगे संरचना । ढोका छैन । ढुंगैले छेकेर काम चलाइएको छ । 

रूखका हाँगामा बाँधिएका १०–१२ वटा ध्वजाले यसलाई मन्दिर भएको संकेत गर्छन् । तर चिहाएर हेर्दा मूर्ति देखिँदैन । न पूजाआजा गरिएको छ न घण्ट झुन्डयाइएको । 

दुर्गाथली–७ दौला गाउँको तल्देनमा रहेको यही संरचनालाई सरकारले देशका सयवटा गन्तव्य सूचीमा समेटेको छ– गोरखनाथ मन्दिरका नामले । यो मन्दिर कहाँ पर्छ, स्थानीयलाई समेत थाहा रहेनछ । धेरैजसोले नामसमेत नसुनेको बताए ।

‘यहाँ घरघरकै मन्दिर छन् । कुन मन्दिरलाई गोरखनाथ भन्छन् मलाई त थाहा भएन,’ ४२ वर्षीय धनसरी दौल्यालले भनिन् । जबकि उनको घरबाट सात मिनेटजति पैदल दूरीमा मात्र छ । अर्की स्थानीय हाँसु देवी दौल्यालले उल्टै प्रश्न गरिन्, ‘गोरखनाथ मन्दिर ? यही गाउँको मन्दिर हो र ?’ दौलागाउँका २ सयभन्दा बढी दौल्याल परिवार र २५ परिवार थापाका आआफ्नै मन्दिर छन् । अक्सर अरूका मन्दिरमा पूर्जा गर्दैनन् ।

उत्कृष्ट गन्तव्यमा पारिएको उक्त मन्दिरमा करिब ४० परिवार सिंह जातिले मात्र पूजा गर्छन् । तिनैमध्येका हुन् प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह । गोरखनाथ भनिएको मन्दिर उनको घरबाट करिब २० मिटरमा छ । 

‘यो सिंहजातिको निजी मन्दिर हो । गाउँका सबैलाई यो मन्दिर छ भन्ने पनि थाहा छैन,’ शोभान दौल्यालले भने, ‘राज्यले कसरी उत्कृष्ट गन्तव्यमा पार्‍यो, छक्क परेका छौं ।’

भैरव सिंहले राजनीतिक शक्तिको आडमा आफ्नो मन्दिरलाई गन्तव्य सूचीमा पारेको दुर्गाथली गाउँपालिका ७ का वडा सदस्यसमेत रहेका लोकपाल दौल्यालले बताए । ‘यो सरासर कार्यकर्ता पोस्ने र कमिसन खाने दाउ हो । यही गाउँका सबैले नचिनेको ठाउँ कसरी राष्ट्रिय गन्तव्य हुन सक्छ ?’ उनले प्रश्न गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्