महरालाई जोगाउन रोशनीको अर्को नयाँ कदम



काठमाडौं : उनै रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा दिन–रात कटाइरहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अदालतले के निर्णय गर्न भन्ने सर्वत्र कौतुहलताको विषय बनेको छ ।

रोशनी यौन काण्डमा प्रहरीले अनुसन्धान गरी जवरजस्ती करणी उद्योगमा महरालाई कैदको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको छ । तर, उनै रोशनी भने महराबाट आफूलाई केही नभएको भन्दै पछिल्ला दिनहरुमा सामाजिक सञ्जाल र मिडियाहरुमा समेत बोलिरहेको अवस्थामा अदालतमा समेत त्यस्तै किसिमको निवेदन दर्ता गराउन पुगेकी छन् ।

यसअघि पनि यस्तो निवेदन अदालतमा दर्ता गराउन खोजेकी रोशनीले पछिल्लो पटक प्रहरीले महरामाथि कैदको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेपछि आफूले पनि निवेदी दर्ता गरेको बताइन्छ । रोशनीको यो निवेदनले महरामाथि लागेको आरोप पुष्टि गर्न प्रहरीलाई थप चुनौती खडा गरेको छ ।

जानकारहरु रोशनीको यो निवेदनले महरामाथि हुने कानुनी कारबाही कमजोर हुने र आरोप पुष्टि हुन कठिन हुने बताउँदै आएका छन् ।

प्रहरीसमक्ष कुनै पनि बयान दिन इन्कार गर्दै आएका महराविरुद्ध पक्राउ परेको २६ दिनमा जबजरस्ती करणी उद्योगमा साढे सात वर्ष कैद सजाय र क्षतिपूर्तिको मागदाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

संघीय संसद सचिवालयकी कर्मचारी रोशनीमाथि जबजरस्ती करणी उद्योग गरेको भनी दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान शुक्रबार साँझ अबेर मात्र सकिएको हो । बयान करिब पाँच घण्टा लामो भएकाले थुनछेक बहस भने पूरा हुन सकेन । आइतबार हुने भनिएको थुनछेक बहसले यसको टुंगो लगाउने छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको रोहबरमा महरालाई अदालतका कर्मचारीले ११ वटा प्रश्न सोधेका थिए । जवाफमा महराले इन्कारी बयान दिएका छन् । घटनाका सम्बन्धमा महराले आफू रोशनी शाहीको घरमा गएपनि भेट नभएकाले फर्किएको हुँदा लगाइएका आरोपहरु सबै गलत भएको बयान दिएका छन् ।

पछिल्लो समयमा महराले दिएको बयानमा रोशनी शाहीले दिएको भिडियो अन्तर्वार्ताका साथै पत्रकार विरुद्धको उजुरीको पनि उल्लेख गरेको बताइएको छ । महरामाथि बलात्कार प्रयासको अभियोग र कैद तथा क्षतिपूर्तिको मागदाबी हुँदै गर्दा पीडित भनिएकी रोशनी शाहीले भिडियो रेकर्डसहित थप अर्को निवेदन दिई आफ्नै पूर्वदाबीको खण्डन गर्दै महरा निर्दोष रहेको विवरण उल्लेख गरेकी छन् ।

स्मरण रहोस्, निज शाहीले यसअघि पनि महराले आफूविरुद्ध केही गलत नगरेको भनी इजलास चलिरहेकै बखत निवेदन दिइसकेकी थिइन् । योसँगै शाहीले पत्रकार अजयबाबु शिवाकोटीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही माग गर्दै हुलाकमार्फत् दिएको उजुरी महानगरीय प्रहरी वृत्त वानेश्वरले दर्ता गर्न नमानेको आरोप पनि लगाउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्