नेपाल जेसिज महाधिवेशन : ढाका टोपीमा जेसिज पदाधिकारी



जनकपुरधाम : नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशन जनकपुर जारी छ । देशभरबाट करिब १८ सय जेसिजहरु ढाका टोपी र गेरुवा वस्त्रमा उपस्थित छन् ।

 

शनिबार नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गरेर सुरु भएको महाअधिवेशनको सुरुवातदेखि नै जेसिजका पाधिकारीहरु टाउकोमा ढाका टोपी र पहिरनमा गेरुवा रंगकाे वस्त्र र अस्कोट मा देखिएका हुन् ।

उद्घाटन सत्रमा जनकपुर जेसिजका अध्यक्ष जेसी लक्ष्मी साह र अमित जलानले पनि ढाका टोपी लगाएर नेपाली भाषामा उद्घोषण गरे। जनकपुर महानगरपालिकास्थित तिरहुतिया गाँछीको खुल्ला मैदानमा महाधिवेशन जारी छ ।

 

जनकपुर जेसिजको आतिथ्यतामा भइरहेको महाधिवेशन मंगलबारसम्म रहने छ । महाधिवेशनको अवसरमा नेपाल जेसिजले विभिन्न विधामा उत्कृष्टलाई सम्मान गरेको छ । 

 

यसरी सम्मानित हुनेहरुमा झापाका उद्यमी दिपेश ढकाल, काठमाडौंकी स्नेह भण्डारी, प्रदिप बजगाई, भुवन गन्धर्व, सानुबा सुनुवार र जगलाल महतो रहेका छन् । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि तथा प्रथम राष्ट्रपति डा रामवरण यादव र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले नगद, ताम्रापत्रसहित सम्मान गरेका थिए ।

यसैगरी, नेपाल जेसिजले १२ जनालाई जेसिज सिनेटरसिप प्रदान गरेको छ । सिनेटरसिप प्राप्त गर्नेहरुमा लहान जेसिजका राजाबाबु शाह, नुवाकोटका रवीन पोखरेल उर्लाबारी जेसिजबाट केदार भण्डारी, सिदार्थ जेसिजबाट कमल भण्डारी, भकुण्डेबेसीबाट रुकमणि भण्डारी, गोदावरी जेसीजका आशिष शर्मालगायत रहेका छन् । उक्त सिनेटरसिपको घोषणा नेपाल जेसिजका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गरेका थिए ।

महाअधिवेशनमा नेपाल जेसिजको स्मारिकासमेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल जेसिजका संस्थापक अध्यक्ष भेषबहादुर थापा, राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउत, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, महाधिवेशन निर्देशक सन्तोषकुमार शाहलगायतले नेपाल जेसिजको महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

 

नेपाल जेसिजका महासचिव श्रीराम पौडेलले यो वर्षको महासचिवको प्रतिवेदन प्रस्तुत गरे । शाखा अध्यक्ष जितेन्द्र महासेठले सहभागीलाई स्वागत तथा निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विकास मानन्धरले धन्यवाद ज्ञापन गरे ।

महाधिवेशनले वर्ष २०१९ का लागि नया नेतृत्वसमेत चयन गर्नेछ । आइतबार अधिवेशनस्थल तिरहुतिया गाछीबाट बिहान दुई हजारभन्दा बढी जेसिजहरुले आआफ्नो शाखाको व्यानरसहित पिस मार्चसमेत निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्