‘हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण’



काठमाडौँ:  नेपाल र भारतका नेताहरुले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा मंगलबार आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा नेपाल र भारतका नेता तथा पदाधिकारीले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताएका हुन् ।

 

कार्यक्रममा उपस्थित भारतका तर्फबाट भारतिय जनता पार्टीका केन्द्रिय प्रवक्ता एवं सांसद तरुण बिजय, काङ्ग्रेस आईका सचिव चन्द्र कुमार,  भारतीय राजदूत मञ्जिव सिंह पुरी लगायत र नेपालका शिर्ष नेताहरु नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रदीप गिरि, नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले महात्मा गान्धी देखाएको अहिंसा र शान्तिको बाटोमा नेपाल र भारतका जनता हिँडेकाे बताएका छन् ।

 

सभापति देउवाले अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको बताए । उनले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गरे । सभापति देउवाले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे । 

 

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । “गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा म सानैदेखि प्रभावित भएकाे छु ” उनले भने । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पारे । 

 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताए । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उनले भने । 

 

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताए । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उनले भने । 

 

भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताए । “भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिन्छ,” उनले भने । उनले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गरे । 

 

काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गरे । “भारतलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन गान्धीको अतुलनीय योगदान रहेको छ,” उनले भने । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, प्रा वीणा पौड्याल, नेपालका लागि पूर्व राजदुत दिप कुमार उपाध्यायलगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताएका छन् । 

 

काठमाडाैंस्थित भारतिय राजदुतावासले नेपालकाे परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मनाइएकाे दिवसमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवर्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताएका छन्।

 

गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्षधर व्यक्तिको नेताका रुपमा रहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘गान्धी केवल भारतका मात्र होइनन्, शान्ति र अहिंसाको पक्षमा रहेका विश्व मानव समुदायको नेता हुनुहुन्छ।’

 

नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनमार्फत विश्व शान्तिमा आधारित भएको बताउँदै उनले गान्धीको शान्ति र अहिंसाको विचारसँग नेपालको परराष्ट्र नीतिका आधारभूत भावना मेल खाने धारणा राखे।

 

प्रतिक्रिया दिनुहोस्