नाम सेमेस्टर, व्यवहारमा वार्षिक प्रणाली



काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सेमेस्टर प्रणाली लागू गरेको आधा दशक भइसक्दा पनि विद्यार्थी भर्ना र पठनपाठन भने वार्षिक प्रणालीअनुसार नै हुने गरेको पाइएको छ । 

हरेक ६ महिनामा एक सेमेस्टर पूरा हुने भए पनि त्रिविले विद्यार्थी भर्ना र पठनपाठन वार्षिक प्रणालीअनुसार ढिला गर्ने गरेको हो ।

त्रिवि डिन कायालयहरूले स्नातकोत्तर तहको भर्ना खोलेसँगै अघिल्लो तेस्रो सेमेस्टरलाई समेत पढाउनुपर्ने भएपछि तनाव बढेको प्राध्यापकहरू बताउँछन् । 

‘नयाँ भर्ना खुलेपछि दोस्रो सेमेस्टरको मात्र पठनपाठन हुनुपर्ने हो,’ त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख दुबिनन्द ढकाल भन्छन्, ‘तर, गत वर्षको चुनावले गर्दा पढाइ धकेलियो । तेस्रो सेमेस्टरको पनि पठनपाठन सुचारु राख्नुपर्ने बाध्यता छ ।’

सेमेस्टर प्रणाली सुरु भएयता विद्यार्थीको रोकिएको पठनपाठन जाडो बिदासमेत कटौती गरेर पढाएको ढकालले बताए । ‘तर, त्यसरी अतिरिक्त पढाएको पारिश्रमिक विश्वविद्यालयले दिएन,’ ढकालले भने, ‘बिना पारिश्रमिक पढाउने आँट कसैले गरेनौं ।’

त्रिविले सेमेस्टर प्रणाली लागू गरेपछि अधिक शिक्षकले असन्तुष्टि प्रकट गर्दै आएका छन् । अर्कोतर्फ विश्वविद्यालयले मानव स्रोत, भौतिक र शैक्षिक पूर्वाधारको चुस्त व्यवस्थापन गर्न सकेको छैन । 

अनेक कमजोरीका बाबजुद जबरजस्ती सेमेस्टर प्रणाली अघि बढाउनुपरेको विश्वविद्यालयका अधिकारी स्विकार्छन् ।

त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा सेमेस्टर प्रणाली तल्लो तहबाट लागू हुन नसक्दा कमजोर भएको स्विकार्छन् । 

‘विश्वविद्यालयले स्नातकोत्तर तहका सबै कार्यक्रम सेमेस्टरमा लागू गर्ने निर्णय गर्‍यो र लागू भएको हो,’ डिन शर्मा भन्छन्, ‘तर, तलबाट हुनुपर्ने माथिबाट लागू हुँदा समस्या आएको छ ।’

उक्त संकायमा बीबीएस वार्षिक प्रणालीमा सुचारु छ भने बीबीएमात्र सेमेस्टरअनुसार रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्