खाडाबस्तीमा आगलागी



कालिकोट: पलाँता गाउँपालिका १ को खाडाबस्तीमा भएको आगलागीमा ८७ घर जलेका छन् । आइतबार रातिबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म दुई भैंसी, दुई बाख्रा र १४ गोरु जलेका छन् । आगलागीबाट मानवीय क्षति भएको छैन । 

आगो नियन्त्रण तथा उद्धारकार्यमा खटिएका पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, विष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररूपा न्यौपाने सामान्य घाइते भएका छन् । खानेपानी अभावका कारण आगो नियन्त्रणमा लिन मुस्किल भइरहेको प्रहरीले जनाएको छ । खाडामा खरको छाना भएको घना बस्ती हो ।

 

स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाडा गणेश आधारभूत विद्यालयसँगैको बस्तीमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र पलाता विकास निर्माण कार्य दलका सदस्य गाउँमा पुगिसकेका छन् । राहत र उद्धारका लागि आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए ।

प्रतिक्रिया दिनुहोस्