कसरी आईपुगे २ नम्बर प्रमुखमा परियार ?



काठमाडौ : तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)सँग वैमनष्यता भएपछि बरिष्ठ नेता मोहन वैद्य सहितले पार्टी फुटाए । त्यही पार्टीमा तिलक परियार पनि गए ।

माओवादी पार्टी विभाजनपछि दोस्रो संविधानसभाताका वैद्य माओवादीमा रहेका उनी चुनाव बहिस्कारमा सक्रिय भएका थिए । पछि वैद्य नेतृत्वको पार्टी पनि फुट्यो । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्दै फुटाएर बनाएको नयाँ पार्टी नेकपा बन्यो ।

उनी उतैतिर लागे । नेतृत्वसँग असहमति बढ्दै गएपछि परियार विप्लवसँग पनि धेरै दिन टिक्न सेकनन् । र,उनले विप्लवकोसाथ पनि छाडे । तिनै परियार पछि वैद्यसँग अलग्गिएका रामबहादुर थापा (बादल) समूहसँगै विप्लव समूहबाट अलग भएको तिलक परियारको समूह पनि प्रचण्डकै नेतृत्वको माओवादीमा फर्कियो । जसको फलस्वरुप उनी अहिले प्रदेश २ को प्रमुख बनेका छन् । परियारलाई प्रदेश प्रमुख बनाउन गृहमन्त्री रामबहादुर थापा(बादल)ले विशेष जोड रहेको देखिन्छ ।

प्रदेश प्रमुखमा सिफारिस भएपछि परियारलाई प्रदेश ५ को प्रमुख बन्ने धेरैले अड्कल गरेका थिए । तर त्यसो भएन । उनको चाहना पनि ५ नम्बर प्रदेशकै प्रमुख बन्ने थियो । तर प्रदेश २ मा राजपा र समाजवादी पार्टीको संयुक्त सरकार रहेको र २ नम्बर प्रदेशको सरकारले बेलाबखत संघीय सरकारलाई समेत अप्ठ्यारामो पार्नेगरी गतिविधिहरु गर्ने हुनाले त्यसको चेक एण्ड व्यालेन्सका लागि संघीय सरकारले परियारलाई अगाडी सारेको बताईन्छ ।

२ नम्बर प्रदेश सरकारलाई नियन्त्रणमा राख्न सक्ने व्यक्तिको खोजी हुँदा परियार रोजाईमा परे । २ नम्बर प्रदेश सरकारले प्रदेश प्रमुखप्रति नजरअन्दाज गरेमा दलितमाथि हेपेको भन्ने ठाउँ पनि राख्दै सरकारले सचेततापूर्वक परियारलाई २ नम्बरको जिम्मेवारी दिएको बताईन्छ ।

रोल्पा लिवाङको विपन्न परिवारमा जन्मिएका परियाले स्नातकसम्म अध्ययन गरेका छन् । अध्ययनका शिलशिलामा भारत गएका उनी उतै रहँदा राजनीतिमा सक्रिय बने र मशालको दिल्ली कमिटीको सचिवसमेत बने ।

भारतमा एसएलसी पास गरेपछि रोल्पा फर्किएका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम गरे । त्यसपछि स्थानीय विद्यालयमा पनि पढाए । त्योे जागिर छाडेर फेरि उच्च शिक्षा पढ्न भन्दै उनी भारत फर्किए । उनले भारतमै स्नातकसम्म अध्ययन पूरा गरे ।

भारत बसाइपछि उनी जन्मथलो त फर्किए । तर, सुगम क्षेत्र खोज्दै बाँकेको राप्ती सोनारी गाउँपालिकाको बिनौनामा बसाइँ सरे । ०५० सालतिर बिनौनाबाट फेरि कोहलपुर नगरपालिका १२ निबुवामा बस्न थाले ।

०२८ सालदेखि नै राजनीतिमा लागेका परियार माओवादी आन्दोलनमा समेत सक्रिए भए । माओवादी जनयुद्धको क्रममा उनी ‘हिम्मत’ उपनामले चिनिन्थे । सशस्त्र जनयुद्धको क्रममा ०५४ सालमा उनी पक्राउ समेत परे । यद्यपि ०५८ सालमा दाङको हापुरेमा माओवादी र सरकारी टोलीबीच वार्ता हुँदा परियार रिहा भए ।

पुराना कम्युनिष्ट नेताको पहिचान बनाएका उनी दलित आन्दोलनका अगुवा हुन् । उनी तत्कालीन माओवादीसम्वद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाको अध्यक्षसमेत बने । उनी माओवादीको सचिवालय सदस्य समेत भए र दुई पटक सांसदसमेत बने ।

अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वा्चित भए । त्यसपछि उनी माओवादी पार्टीको सल्लाहकारसमेत बने ।

प्रतिक्रिया दिनुहोस्