भारतको एकपक्षीय राजनीतिक नक्साबारे बोल्यो सरकार



काठमाडौं : सरकारले छिमेकी मुलुक भारतलले गत शनिबार सार्वजनिक गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएको छ ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रको भूमि समेत भारतमा राखेपछि नेपालमा यसको सर्वत्र विरोध भइरहेको छ ।

बुधवार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारेको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपाल सरकारले जोड दिँदै कालापानी क्षेत्र नेपालको भूभाग रहेको जनाएको छ ।

‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’ परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ– ‘नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्