प्रचण्डलाई सिटौलाको जवाफ-‘त्यो अवस्थामा तपाई भएको भए के गर्नुहुन्थ्यो ?’



काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दाङ पुगेर पूर्व सभामुख महराका बारेमा मुख खोलेपछि कांग्रेस नेता सिटौलाले महराप्रति सहानुभूति व्यक्त गर्दै केही गम्भीरप्रश्नसहित प्रचण्डलाई जवाफ दिएका छन् ।

सिटौलाले आफ्नो भावनात्मक सम्बन्ध र सहकार्यको स्मरण गर्दै प्रचण्डलाई प्रश्न गरेका थिए ‘त्यो अवस्थामा तपाई भएको भए के गर्नुहुन्थ्यो ? सहानुभूति चाहनुहुन्न ?’ यसै क्रममा उनको थप कथन थियो– महराको मुद्दामा प्रहरी अनुसन्धानको भरमा मात्रै विश्वास गर्न सकिदैन र त्यसमा पीडित भनिएकी महिलाको बयान धेरै महत्वपूर्ण हुन्छ ।

पछिल्लो चरणमा पार्टी सांगठनिक गतिविधिमा केही बढी क्रियाशील देखिएका प्रचण्ड दाङ पुगेर कार्यकर्ताहरुका माझमा महराको विषयमा गुनासो पोखेको जस्तो गरी पहिलो पटक मुख खोल्दै भनेका थिए– ‘महराले नैतिकरुपमा पनि गल्ती गरे र नेतृत्वलाई ढाँटेर झनै ठूलो गल्ती गरे ।’

एकातिर सरकारी वकिलका तर्फबाट महराले बलात्कार उद्योग गरेको भनी अधिकतम सजायसहित अभियोग–पत्र दायर गरी पुर्पक्षका लागि थुनामा पठाइएको र अर्कोतिर स्वयम् महरा र पीडित भनिएकी रोशनी शाहीले आफूहरुविरुद्ध षड्यन्त्र भएको भन्दैगर्दा आफ्नै पार्टी अध्यक्ष प्रचण्डले महराका बारेमा यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

यही कुरामाथि टिप्पणी गर्दै कांग्रेस नेता सिटौलाले महराले गल्ती गरेको र षड्यन्त्रपूर्वक फसाइएको भन्ने विरोधाभाषपूर्ण कुरा आफूले सोच्न नसकिरहेको भन्दै उनले थपे ‘गल्ती हो भने महराले कसरी गल्ती गर्नु भो र षड्यन्त्र हो भने यत्रो दुईतिहाई कम्युनिस्ट सरकार छ ?’ यो प्रश्नसँगै उनले दोहर्याए– ‘तर पनि उहाँप्रति मेरो सहानुभूति छ । महरा मेरो नजिकको मित्र हो ।’

सिटौलाले विगतको सहकार्य कोट्याउँदै भने, ‘म सरकारी वार्ता टोलीको संयोजक, उहाँ विद्रोही माओवादी टोलीको संयोजकका रुपमा विस्तृत शान्ति संझौता, लडाकु समायोजनमा काम गर्यौं ।’ उनले नर्भिक अस्पतालमा आफुले महरालाई भेटेको प्रसंग खुलाउँदै भने– ‘उहाँको बारेमा भन्नुपर्दा सगरमाथाको शिखरमा पुगेर लात्ताले हानेर खसालेको, बाटो बिराएर लडेको मान्छेजस्तो लाग्छ । आफ्नो साथी अप्ठेरोमा पर्दा भेट्न गए । मानवीय कर्तव्य निर्वाह गरे ।’

हाल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा दुःख लागेको भन्दै सिटौलाले थपे, ‘त्यो घटनामा हो र होइन भन्ने एकिन गर्ने आधार छैन ।’ उनको बुझाइमा पीडित भनिएकी शाही ‘बयानबाजी वक्तव्य फरकफरक ढंगले’ आइरहेकाले यसै हो भनी विश्वास गर्ने आधार नभएको तर ‘अदालतमा पनि महिलाको बयान टेस्ट होला, बकपत्र गराउला र बाँकी अदालतले आवश्यक निर्णय लेला ।’

प्रतिक्रिया दिनुहोस्