आलमका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु र रमण उभिएपछि सर्वत्र निन्दा



रौतहट : राजपुर नरसंहार काण्डमा ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मोहम्मद अफताब आलम विरुद्ध रौतहट जिल्ला अदालतमा दर्ता भएको मुद्दामा आलमका तर्फबाट बहस गर्न काठमाडौंबाट नाम चलेका वरिष्ठ अधिवक्तहरु आउने क्रम जारी छ ।

वरिष्ठ अधिवक्ताहरु पीडितको पक्षबाट नभइ मानिसहरुलाई जिउँदै ईट्टाभट्टामा खसालेर जलाउनेको पक्षमा बहस गर्न यहाँ आउने चर्चाले रौतहट मात्र होइन संघीय राजधानी काठमाडौंमा पनि विशेष चर्चा पाएको छ ।

यस विषयमा सामाजिक सञ्जालमा पनि उनीहरुको चर्को आलोचना भइरहेको छ ।

आलमको पक्षमा वकालत गर्न पनि काठमाडौंबाट आधा दर्जन अधिवक्ता गौर आइपुगिसकेका छन् । हिजो (बुधबार)सम्म नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अभिवक्ता शेरबहादुर केसी, नेपाल डेमोक्रयाट लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी, बारका पूर्वमहासचिव सुनिल पोखरेल, भुषण घिमिरेलगायत आइसकेका छन् ।

आज (बिहीबार) आलमको पक्षमा वकालत गर्न काठमाडौंबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, हरिहर दाहाललगायत आधा दर्जन अधिवक्ता आउँदै छन् ।

१२ वर्षअघि भएको उक्त घटनामा पक्राउ परेका नेपाली कांग्रेसका सांसद (रौतहट(२) आलम गत असोज २६ देखि प्रहरी हिरासतमा छन्। जिल्ला न्यायाधीश दीपक ढकालको बेञ्चमा मंगलबारदेखि बयान दिइरहेका आलमको आज पनि बयान जारी छ ।

बयान सकिने बित्तिकै बहस गर्न काठमाडौंबाट चर्चित अधिवक्ताहरू रौतहट सदरमुकाम गौर पुगेका अधिवक्ताको संख्यामात्रै दर्जन बढी देखिएको छ।

त्यसोत उक्त घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप नारायण सिंह र ओसी अख्तरलगायत पीडितको पक्षबाट बहस गर्न काठमाडौंबाट पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलासहित वरिष्ठ अधिवक्ताहरू गोविन्द बन्दी, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, आशिकराम कार्की, राजकुमार महासेठ, उमा शर्मालगायत गौर आइसकेका छन् ।

सामाजिक सञ्जालमा वरिष्ठ अधिवक्ता थापा र श्रेष्ठलगायतका विषयमा यसरी चर्को आलोचना भएको छ । आफ्नो फेसबुकमा लेख्दै विभिन्न व्यक्तिहरुले यसरी टिप्पणी गरेका छन् :-

देउजा राधाकृष्ण : विद्वान एवं सबैभन्दा सम्मानित भित्र पार्ने वरिष्ठ अधिवक्ता आदरणीय शम्भु थापा करिव दुइ दर्जन मान्छेलाई भट्टामा हालेर पोलेको भन्ने आरोप लागेका मोहोम्मद आफ्ताव आलमको पक्षमा वकालत गर्न गएको सुन्दा अत्यन्त दुःख लागेको छ । अचम्म पनि लागेको छ । आशा गरौँ सुनेको खबर झुठो होस् । राज्यको प्रताडनामा परेका थुप्रै लोकतान्त्रिक नेताहरुदेखि राजनीतिक आर्थिक लाभ नहुने देखेर राजनीतिक हस्तीहरुले आइजीपी हुन नदिएर दुःख दिएका नवराज सिलवाल जस्तो आशा लाग्दो प्रहरी समेतलाई न्याय दिने शम्भु थापाले सवुद प्रमाणले गलत रहेको संकेत गरिसकेका आफ्ताव आलमको पक्षमा वकालत गर्ने चाहिँ अलिक हजम भएन है । तर यसो भनेर वहाँको पेशागत अधिकारमा सवाल खडा गर्न वा त्यसमा भाँजो हाल्न खोजिएको हैन । वहाँसँग सामान्य अपेक्षा मिश्रित आश्चर्य मात्रै हो ।

टेकराज पौडेल : अवश्य केही दिन अघि मैले नि यसै आसयको स्टाटस हालेको थिए । व्यावसायिक हिसाबले त ठिकै होला । तर लोकतन्त्र गणतन्त्र का विकृतीबारे दरो बहस गरेर राजनैतिक नेतृत्वलाई समेत र्याख रेयाख पार्ने शम्भु थापा अबको दिनमा न्याय क्षेत्रमा एउटा प्रबुद्ध व्यक्तित्व कसरी मान्ने ।

विनोद पोखरेल : पैसाका अगाडी भगवानको पनि तेश्रो नेत्र खुल्छ यिनको किन न खुलोस् । भनिन्छ नि ईज्जत र प्रतिष्ठा कमाउन जती गारो हुन्छ जोगाई राख्न त्यो भन्दा झन गारो हुन्छ !! ठूलाठूला नेताहरुलाई केस लाग्नु भनेकै नाम चलेको ठूलाठूला वकिलहरुलाई दशैँ आउनु नै हो !!

समिर नेपाल : १२ घण्टाअघि नेकपाको टिकटमा चुनाव लडन मरिहत्ते गर्ने शम्भु थापा । एक समयमा वर्तमान नेकपाका अध्यक्षको सल्लाहकार बनेका रमण श्रेष्ठ आलमलाई जोगाउन रौतटहट पुगेछन् शेरबहादुरसँग घाँटी जोडेर । सधै नेपाल बारमा कम्युनिष्टहरूले किन हारेछन् चुनाव ल्याउनुपर्छ र अब केही खोजेर ।

बद्रीबहादुर कार्की : यसबाट के प्रष्ट हुन्छ भने यिनीहरु सत्यको लागि हैन कि पैसाको लागि जस्तो सुकै वकालत गर्न सक्दा रहेछन् ।

रन्जित तामाङ : ९ घण्टाअघि पूर्वएमालेका होनहार मान्छे, न्यायिक क्षेत्रमा त्यस बेला एमालेका होनहार कार्जेकर्ता, पूर्वएमालेबाट चुनावको टिकट पाएर उदयपुरबाट तिर्पतान्म् भएका र उस्तै परे अहिले पनि नेकपाका खत्रै मान्छे हुन् शम्भु थापा !

त्यही थापा श्रीमान अफ्ताव आलमको पक्षमा वकालत गर्ने । मान्छेका मति देख्दा लजाएर गोरुले पनि पाँइट लाउन बेर छैन ।

शिव खकुरेल : बरु एकछाक खाएर पनि जिवन बाच्न सकिन्छ । पैसाको लागी सबै इज्जत, विश्वास र ईमान बेच्ने, कोही बलात्कारीलाई जोगाउन आउन्छन्, कोही हत्यारालाई ।

प्रतिक्रिया दिनुहोस्