इन्डोनेसिया सुनामी : ३७३ को मृत्यु, १४६० घाइते, १२८ बेपत्ता



जकार्ता: इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछि आएको शक्तिशाली सुनामीबाट मृत्यु हुनेको संख्या बढेको छ ।

 

यो समाचार तयार पार्दासम्म सुनामीका कारण ३७३ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै १४६० जना घाइते भएका छने भने १२८जना अझै वेपत्ता रहेको बताइएको छ ।

 

ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको हो । इन्डोनेसियाका सुण्डा स्ट्रेटको तटीय क्षेत्रमा स्थानीय समयअनुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबारसम्ममा ३ सय ७३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

 

इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले भने, ‘३ सय ७३ जनाको मृत्यु भएको छ भने १४६० जना घाइते भएका र १२८ जना बेपत्ता भएको तथ्यांक प्राप्त भएको छ ।’

 

यो प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले जानकारी दिएका छन् । खोज तथा उद्धारकार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने सुटोपोले बताए ।

 

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।

 

भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

 

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २ सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्