राहदानी विभागले सच्यायो नियम, अब कपालमा जुत्ताको पालिस लगाउनु नपर्ने



काठमाडौं : पासपोर्ट बनाउँदा कपाल कालो नै बनाउनु पर्ने मान्यता राहदानी विभागले सच्याएको छ । अन्तर्राष्ट्रिय प्रचलन बाहिर गएर राहदानी विभागका कर्मचारीले कपालको रंग अप्राकृतिक बनाएको भन्दै कालो पार्न दबाब दिइरहेको समाचार सार्वजनिक भएपछि विभागले त्रुटी सुधारेको जनाएको छ ।

कपाल रंगाएको र प्राकृतिक नदेखिएको भन्दै विभाग परिसरभित्रै कपाल कालो पार्न जुत्ताको पालिस लगाउने गरेको समाचार मिडियामा आएपछि विभाग सचेत भएको हो । ‘विभागले कपालको रङसम्बन्धमा सेवाग्राहीलाई सुझाव नदिन र कुनै पनि किसिमको रङ विभाग परिसरभित्र उपलब्ध नगराउन कर्मचारी तथा सम्बन्धित सुरक्षाकर्मीलाई निर्देशन गरिएको बेहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराउँछौं’, विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा प्रचलित नेपाल कानुनमा समेत कपालको रङबारे स्पष्ट उल्लेख नभएकाले यस्तो सुझाव नदिन निर्देशन दिइएको हो ।’ अन्य कार्यालयभन्दा राहदानी विभागको सेवा प्रवाह चुस्त रहे पनि केही समययता काममा लापरवाही भइरहेको र कर्मचारी सर्वसाधारणका कामप्रति जिम्मेवार नभएपछि यस्तो स्थिति उत्पन्न भएको थियो ।

‘हास्यास्पद नियम : पासपोर्ट बनाउन कपालमा जुत्ताको कालो पालिस’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विभागले आफ्नो गल्ती सच्याएको विज्ञप्तिमा उल्लेख गरेको छ । विभागले पासपोर्टको विश्वसनीयता र गुणस्तर आईकाओको मापदण्डबमोजिम तुल्याउने प्रयास गर्दै आएको पनि जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्