वाइडबडीमा अयोग्यसँग सम्झौता



काठमाडौं : नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो ।

‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाणबिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट भएको देखिन्छ,’ विमान खरिदको कानुनी प्रक्रियाबारे अध्ययन गरेको सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘विमानको स्वामित्व भएको अथवा स्वामित्व पाउने सुनिश्चितता गर्न नसकेको कम्पनीलाई छनोट गर्नै मिल्दैनथ्यो । एएआरले पेस गरेको प्रस्ताव हेर्दा ऊसँग विमानको सुनिश्चितता गर्ने कागजात देखिएन ।’

निगम स्रोतका अनुसार सुरुको प्रस्तावमा एएआरले हाई–फ्लाईसँगको सम्झौतासमेत पेस गरेको थिएन । २०१६ डिसेम्बर १६ (२०७३ पुस १ गते) बोलपत्र मूल्यांकन उपसमितिले निगमका प्रबन्ध निर्देशकलाई बुझाएको प्रतिवेदनमा ११ वटा कम्पनीको प्रस्तावमाथि तुलनात्मक अध्ययन गरिएको छ ।

जसमा सिनर्जी एरोस्पेस र एरोस्पेसबाहेक कुनैको पनि आफ्नै स्वामित्व नभएको उल्लेख छ । एएआर कम्पनीले हाई–फ्लाईको स्वामित्वमा रहेको विमान भनी उल्लेख गरेको थियो । प्रतिवेदनमा भनिएको छ, ‘प्रस्तावले अफर गरेको विमानको स्वामित्व हाई–फ्लाईसँग छ । हाई–फ्लाईले एयरबससँग विमान निर्माणको अर्डर गरेको भनी एएआरले त्यही विमान दिने भनेको छ ।’

यसमा विमानको स्वामित्व रहेको उल्लेखित सिनर्जी एरोस्पेसको प्रस्ताव भने ११३ मिलियन अमेरिकी डलरको थियो । कम रकम प्रस्ताव गर्ने अरू कम्पनीको स्वामित्वबारे टिप्पणी गर्दै प्रतिवेदनमा ‘स्वामित्वबारे कुनै उल्लेख नगरिएको’ भनी कैफियत लेखिएको छ ।

नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीका अनुसार विमान बिक्री गर्ने कम्पनी योग्यता पुग्न कि ऊसँग विमानको स्वामित्व हुनुपर्छ, नभए उसको आर्थिक हैसियत विमान खरिदका लागि सक्षम छ भन्ने सुनिश्चित हुनुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्