दाङमा चुनावी सरगर्मी : विमला र केशवमा कसको पल्लाभारी



दाङ : आगामी मंसिर १४ गते हुने प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा दाङ क्षेत्र नम्बर ३(ख)मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । चुनावी माहौल तात्दै गर्दा सत्तारुढ नेकपाकी उम्मेदवार विमला ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केशव शर्मा आचार्यले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।

उम्मेदवार दुवै जनाले हिजो बिहीबार आफ्नो मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा सोभाराम बस्नेत र समर्थकमा एम.एन. शाह रहेका छन् ।

यस्तै नेपाली कांग्रेस उम्मेदवार आचार्यको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का रहेका छन् । यसैगरी अन्य उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी रहेका छन् ।

त्यस्तै समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी विचार)बाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ ।

नेकपाबाट उम्मेदवार बनेका विमला ओली कार दुर्घटनामा परी मृत्यु भएका प्रदेश सभासदस्य उत्तरकुमार ओलीकी श्रीमति हुन । कांग्रेस नेता खुमबहादुर खड्काले पटक–पटक जित्दै आएको यो क्षेत्रलाई कांग्रेसले आफ्नो पकड क्षेत्रका रुपमा दाबी गर्दै आएको छ । दोस्रो संविधानसभा चुनावमा जनमत आफ्नो पक्षमा पारेको कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जनमत गुमाएको थियो । प्रतिनिधिसभा सदस्यका लागि भएको यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट चुनाव लडेका दीपक गिरी तत्कालीन नेकपा एमालेका हिराचन्द्र केसीसँग पराजित भएका थिए । बाट पराजित हुनु भएको हो । यो क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्रबाट कांग्रेसका बुद्धिराम भण्डारी साढे ६ हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।

तत्कालीन नेकपा एमालेकै उत्तरकुमार ओली भने यो प्रदेशसभा क्षेत्रबाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा ओली कांग्रेसका प्रतिस्पर्धी भण्डारीभन्दा साढे ६ हजार भन्दा बढी मतले विजयी भएका थियो । कुल खसेको ४२ हजार ६ सय ४९ मत मध्य ओलीले २३ हजार ९ सय ७० मत र कांग्रेसका भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन् । जसका लागि ३२ मतदान स्थल र ७७ मतदान केन्द्र तोकिएको छ ।

यसरी तत्कालिन प्रदेशसभा सदस्य ओलीको निधनपछि रिक्त रहेको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएपछि सहनुभूतिको भोट र पार्टीको भोट आउने भएकोले नेकपाले जित्ने आंकलन नेकपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्