विवाद मिलाउन मापदण्ड बनाउँदै नेकपा



नेपाल कम्युनिस्ट पार्टी,नेकपाको सचिवालय बैठकमा सांगठानिक एकीकरणसम्बन्धी मापदण्डका विषयमा छलफल शुरु भएको छ ।  बुधवार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल शुरु भएको हो।

जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकतापछि तल्ला तहका कमिटीहरूको एकीकरण गर्ने भनिए पनि सांगठनिक एकीकरण सम्बन्धी मापदण्ड नबन्दा एकीकरणमा विवाद देखिएको छ।

ने क पाले प्रदेश र जिल्ला कमिटी तथा जन वर्गीय संगठनको एकीकरणका लागि कार्यदल बनाएका थिए। तर कार्यदलले बुझाएको प्रतिवेदनमै विवाद उत्पन्न भए पछि ने क पाले एकीकरण सम्बन्धी मापदण्ड बनाउन छलफल शुरु गरेको हो।

कार्यदलले बुझाएको प्रतिवेदन प्रति तत्कालीन एमालेबाट माधव नेपाल समूहले असन्तुष्टि जनाउँदै मापदण्ड बनाएर एकीकरण गर्न माग गर्दै आएको थियो। आजको बैठक वरिष्ठ नेता झलनाथ खनालले पनि मापदण्ड बनाउनुपर्ने विचार राखेका थिए।

आजको बैठकमा महासचिव विष्णु पौडेलले पेस गरेको भएको सांगठनिक एकीकरणसम्बन्धी मापदण्डको मस्यौदामाथि औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धी कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएका थिए।

प्रतिवेदनलाई सचिवालयले स्वीकार गरेको र प्रतिवेदनमाथि सहमति जुटाउने गरी भोलि पुन बैठक बोलाइएको छ।

भोलिको बैठकले मापदण्डलाई टुंगो लगाउने भएको छ। त्यस्तै सोही मापदण्ड अनुसार सचिवालयले प्रदेश र जिल्ला कमिटीका साथै जन वर्गीय संगठनको एकीकरणलाई टुंगो लगाउने छ।

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरणसम्बन्धी सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्