राजदूत शेर्पा विवाद : छानबिन समितिले बुझायो प्रतिवेदन



काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा सरकारले अझै निर्णय गर्न सकेको छैन। राजदूत शेर्पालाई लगाइएको आरोप सत्य हो या होइन भनेर छानबिन समितिले स्पष्ट नपारेपछि सरकार अन्योलमा परेको छ।

तीन सदस्यीय समितिले शेर्पाविरुद्ध लागेको आरोपका विषयमा प्रतिवेदन बुझाउँदा दिएको धारणा नै ‘अस्पष्ट’ छ। सबै घटनाक्रम, सबै पक्षको बयान, कूटनीतिक अभ्यास र सम्बन्धित मुलुकको हेराइसहितका यथार्थ प्रतिवेदनमा राखिएकाले बोलाउने वा राख्ने निर्णय सरकारमा भर पर्ने सदस्यले बताएका छन्। समितिले प्रतिवेदन परराष्ट्रसचिवलाई सोमबार साँझ बुझाएको हो।

‘छानबिन समितिले ठूलै प्रतिवेदन दिएको छ। म अध्ययन गर्दै छु’, परराष्ट्रसचिव शंकरदास वैरागीले भने, ‘राजदूत र आरोप लगाउने व्यक्तिको सबै पक्ष केलाइएको बताउनुभएको छ। यसमा कूटनीतिक असर अनि वास्तविकता हेरेर मन्त्रीसँग छलफल गरी निर्णयमा पुगिनेछ।’

प्रतिवेदनकै आधारमा निर्णय हुने उनले बताए। ‘आरोप पुष्टि छैन भने केही गर्ने अवस्था हुँदैन’, उनले भने, ‘पुष्टि भयो भने उहाँलाई जिम्मेवारीमा राखिरहनु आवश्यक पनि हुँदैन।’ मन्त्रालयका अनुभवी सहसचिवहरू सम्मिलित समितिले तयार पारेको प्रतिवेदन स्पष्ट हुनुपर्ने उनको धारणा छ।

‘दुई हप्ताको अध्ययनपछि कार्यालय सकिने समयमा प्रतिवेदन पाएँ। यो अध्ययन गरेर मंगलबार मन्त्रीज्यूसँग छलफल गर्नेछु’, उनले भने, ‘हामीले कूटनीतिक समुदायमा पर्ने असर, द्विपक्षीय सम्बन्ध र न्याय÷अन्यायको विषय सबै ख्याल गरेर निर्णयमा पुग्ने हो।’

आरोप गम्भीर भएरै यो स्तरमा छलफल र अध्ययन भएकाले यसमा सबै सजग हुन आवश्यक महसुस भएको पनि उनले बताए। समितिले वास्तविकता के भन्ने अझै स्पष्ट हुन नसकेको जानकारी मातहतलाई दिइरहेकै अवस्थामा प्रतिवेदन बुझाएको स्रोतले बतायो। समितिका सदस्यले यस विषयमा बोल्न अस्वीकार गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्