यसरी हुन्छ नेपालबाट भारत हुँदै गाईगोरु बंगलादेश तस्करी



काठमाडौं : पूर्वी नेपालको झापास्थित नेपाल–भारत सीमा नाका हुँदै गाईगोरुको तस्करी बढ्न थालेको छ । उक्त सीमा नाकाबाट भारतको पूर्वी भाग तथा सोसँग जोडिएको तेस्रो मुलुक बाङ्लादेश पुर्याउनका लागि यी गाईगोरु तस्करी भएको नेपालका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

केही महिनाअघि भारत सरकारले गोबधमा सख्त प्रतिबन्ध लगाएपछि भारतबाट हजारौंको संख्यामा छाडा चौपायाहरु नेपाल भित्रिएका थिए । यी छाडा चौपायाका कारण पश्चिम नेपालको नेपालगञ्जमा ठूलो समस्या निम्तिएको थियो । त्यहाँबाट दैलेख पुर्याउनका लागि भनी ट्रकमा पठाइएका चौपाया सुर्खेतमा भीरबाट खसाली केही मृत त केही घाइते अवस्थामा भेटिएपछि त्यसले देशभर हंगामा मच्चाएको थियो ।

उत्तरप्रदेश नै नेपाल–भारत सीमा नाकामा रहेकाले पश्चिम नेपालका नाकाहरुमा निकै कडाइ हुन थालेपछि त्यहाँका नाकाबाट गाईगोरु तस्करी रोकिएको छ । युपीमा भित्र्याइएका गाईगोरु कडा प्रादेशिक सरकारी निगरानीका कारण बध गर्नसमेत नपाएपछि नेपालतिर छाडिएको देखिनुले पनि यो सख्तखालको कडाइ थियो भन्ने बुझिन्छ ।

तर गाईगोरु तस्करहरुले नयाँ रुटहरु खोज्दै र प्रयोग गर्दै आउँदा अहिले पूर्वी नेपालको झापास्थित सीमा नाका बढी प्रयोगमा आउन थालेको छ । हालसम्मको प्रहरी अनुसन्धानअनुसार मध्य–नेपालस्थित नवलपरासीबाट झापासम्मको इलाका गाईगोरु तस्करको नजरमा परेको देखिन्छ । गत मंगलवारमात्र भारततिर लैजाँदै गरिएका ४९ वटा गोरुगाई झापा प्रहरीले सीमा इलाकाबाट नियन्त्रणमा लिएको बताएको छ ।

प्रहरीका अनुसार पश्चिम बंगाललाई आधार बनाएर तस्करहरुले नयाँ ‘रुटहरु’ प्रयोगमा ल्याउन थालेका छन् । प्रहरीले अहिले झापाका बनियानी, पथरिया, भद्रपुर तथा कुमरखोद नाकाबाट तस्करी गर्दै गरिएका गाईगोरु नियन्त्रणमा लिने गरेको छ ।

विगत ७ महिनाको आँकडालाई हेर्ने हो भने प्रहरीले नियन्त्रणमा लिएका गाईगोरुहरुको संख्या १ सय ९० पुगेको छ । नेपालगञ्जको घटनापछि चौपाया तस्करीमा कडा नियन्त्रण गर्न गृह मन्त्रालयले आदेश गरेपछि देशभरका सीमा नाकाहरुमा चौपाया तस्करीमाथि कडा निगरानी गर्न शुरु गरिएको छ ।

तस्करी गरिएका गाईगोरु पुर्याइने गन्तव्य भनेको बाङ्गलादेश हुने गरेको छ । बाङ्गलादेशमा गाईगोरुको तस्करी मुख्य गरी मासु, छाला तथा हड्डीका लागि गरिने गरेको सुरक्षाकर्मीहरुको दाबी छ । नेपालभित्रै आन्तरिक उपयोगका लागि गाईगोरु ओसारपसारमा कुनै रोक नलगाइएकाले झापासम्म पुर्याउन कुनै गाह्रो छैन । तर देशबाहिर लैजानका लागि प्रहरीले कडा निगरानी गरिरहेको छ ।

जति कडा निगरानी गरे पनि खुला सिमानाका कारण तस्करी भने झैं सजिलै रोकिइहाल्ने अवस्था भने देखिदैन । नेपाल–भारतबीच खुला सीमा भएकाले पशुचौपाया भारततिर लैजान जति सजिलो छ, त्यसको तुलनामा भारतबाट बांगलादेश पुर्याउन बन्द सीमा नाकाका कारण निकै कठिन छ । तथापि पशु चौपाया तस्करीको काम भने रोकिएको छैन ।

तस्करी रोक्नका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक नियमितजसो बस्दै आए तापनि तस्करी नियन्त्रण भने भनेजस्तो प्रभावकारी हुन सकेको छैन । त्यसो त नेपालमा पनि गोबधमाथि कडा प्रतिबन्ध र निगरानी रहेकाले यहाँ गोबध हुन पाएको छैन । होइनभने नेपालमा गाईको मासु तयार पारेर विदेशमा पठाइने संभावना पनि बढेर जाने थियो ।

नेपालमा गाईगोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । मारेमा हदैसम्मको सजाय हुने व्यवस्था गरिएको छ । हाल योसँगै पशुअधिकारका कुरा पनि लिपिबद्ध गरिएको छ ।

गाईगोरु ओसारपसार गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । आन्तरिक उपयोगका लागि देशभित्रै ढुवानी गर्दा पनि गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाँधेर वा कोचेर राख्न नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्