सुदूरपश्चिम राजधानी विवादः जंगलबाहेक अर्को ठाउँ छान्न स्थानीयको आग्रह



कैलाली: सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको तेघरी सामुदायिक वनक्षेत्र नमासिने गरी गोदावरी नगरपालिका २ र ४ वडाभित्रै जग्गा व्यवस्था गर्न सकिने सुझाव स्थानीयले दिएका छन् । सामुदायिक वनबाहेक आसपास क्षेत्रमा पनि राजधानीका लागि चाहिने जमिन पर्याप्त रहेको उनीहरूले बताए ।

 

‘प्रस्तावित राजधानी गोदावरी नगरपालिका २ र ४ वडाको चार किल्लामा रहेको सामुदायिक वनको हुर्किरहेको जंगल चुरे फेदमै पर्‍यो,’ सामुदायिक वनका पूर्वअध्यक्ष कैलाशकुमार जोशीले भने, ‘जंगलबाहेक आसपासकै अन्य क्षेत्र तोकिएको भए विवाद चर्किने थिएन ।’ उनका अनुसार तेघरी सामुदायिक वनबाहेकको उपयुक्त ठाउँमा राजधानी बनाउन पर्याप्त जमिन छ । आवादी क्षेत्रमा राजधानी निर्माणले जंगल पनि सुरक्षित रहने उनको भनाइ छ ।

 

तेघरी सामुदायिक वनका उपाध्यक्ष पुस्कर भट्टले सामुदायीक वनको दक्षिणतर्फ ठूलो खुला चौरको क्षेत्रमा पनि राजधानी बनाउन सकिने बताए । वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ कैलालीका अध्यक्ष टीका जोशीले वन क्षेत्रभित्र राजधानी बनाउने निर्णयको विकल्पमा अन्य ठाउँ खोज्नुपर्ने बताए ।

 

त्यस्तै कांग्रेस नेता वीरेन्द्र भट्टले राजधानी गोदावरी नगरपालिकाभन्दा बाहिर नजाने गरी विवादरहित सरकारी जग्गा खोज्न सकिने अवस्था हुँदाहुँदै वनमाथि आक्रमण गर्ने नियत सत्तारूढ पार्टीका नेतामा देखिएको बताए ।

 

भट्टले लालपुरमा सरकारले जडीबुटी उद्योगलाई भाडामा दिएको ९० विघा जमिनमा राजधानी बनाउन सकिने बताए ।  – कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्