जिल्ला प्रशासन अछाम घेराउ



कैलाली : नेपाली कांग्रेस अछामले मंगलबार जिल्ला प्रशासन घेराउ गरेको छ । चौरपाटी गाउँपालिकाले उमेर नपुगेकोलाई कर्मचारी भर्ना गरेको भन्दै विरोधमा उत्रिएका आफ्ना कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखिएको आरोप कांग्रेसले लगाएको छ । 

 

कार्यकर्तालाई बिना कसुर पुर्वाग्राही ढंगबाट पक्राउ गरेको भन्दै कांग्रेस अछामले जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित प्रदर्शन गरेको हो ।

 

 पौष ४ गते उमेर नै नपुगी चौरपाटी गाउँपालिकाले कर्मचारी भर्ना गरिएको भन्दै बिरोधमा उत्रिएका कांग्रेस कार्यकर्तालाई छापामार शैलीमा प्रहरीले हिरासतमा राखेको भन्दै नेपाली कांग्रेस अछामले जिल्लामा चुरणबद्धरुपमा आन्दोलन जारी राखेको छ ।

 

जिल्ला प्रशासन कार्यालयको हाताभित्रै भएको कोण सभामा अछामका पार्टी उप –सभापति चन्द्रप्रसाद ढुंगाना, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोबिन्दबहादुर शाह, महाधिवेशन प्रतिनिधी मञ्जु मल्ल, नेविसंघ अछामका अध्यक्ष नृप साउद, तरुण दल अछामका अध्यक्ष प्रकाश साउदले सम्बोधन गरेका थिए । 

घेराउ कार्यक्रममा गाउँ–गाउँबाट सयौंको संख्यामा कांग्रेसका नेता कार्यकर्ता सदरमुकाम जम्मा भएका छन् । पार्टी कार्यालयबाट सुरु भएको र्‍याली प्रहरी प्रशासन र गृहमन्त्री, प्रधानमन्त्रीका विरुद्धमा नाराबाजी गर्दै जिल्ला प्रशासन पुगेको थियाे। जिल्ला प्रशासनको हाताभित्रै कोणसभा गर्दा प्रहरीले रोक्न खोजेपछि केहीबेर झडपको स्थितिसमेत सृजना भएको थियो । 

पुस ४ गते उमेर नै नपुगी चौरपाटी गाउँपालिकाले कर्मचारी भर्ना गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो । सिएमए पदमा १८ वर्ष नै नपुगेको व्यक्तिलाई आफ्नो कार्यकर्ताको रुपमा भर्ना गरेको भन्दै नेपाली कांग्रेस र नेविसंघका कार्यकर्ताहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद र निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले आफुहरुलाई अमानविय व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाँच जना काँग्रेस कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाईएको छ । त्यसविरुद्ध काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा चरणबद्द शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्