मदिराले लट्ठ काङ्ग्रेस नेताले प्रधानाध्यापक कुटे



गुल्मी: गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका छन् । नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि हातपात गरेका हुन् ।

 

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए । साँझको समयमा एक्कासी जिसीले मदिरा सेवन गरी हातपात गरेको कार्कीले आरोप लगाए ।

 

घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बस्यो । तर निष्कर्ष भने केहि निस्किएको छैन । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जिसीको स्वभाव नै अरुलाई धम्काएर आफू ठूलो हुन खोज्ने खालको रहेको बताएका छन् । विगतका दिनमा पनि जिसीले केहि गलत क्रियाकलाप गरेकाले सहमति नभएको प्रजिअ पौडेलले बताए । ‘विद्यालयको निर्णय माग्दै हातपात गर्नु एकदमै गलत काम हो ।’ प्रजिअ पौड्यालले भने, ‘आज निष्कर्ष नआएपछि भोलि बैठक बस्ने गरि स्थगित गरिएको छ ।’

 

यस विषयमा काङ्ग्रेस नेता जिसीले आफूले सुचनाको हकको प्रयोग गर्दै विद्यालयका बैठकको निर्णयको प्रतिलिपि मागेको प्रतिक्रिया दिए । ‘बैठकको प्रतिलिपि मात्र मागेको हो, तर उहाँहरुले कुरै सुन्नुभएन ।’ जिसीले भने । तर विद्यालयका प्रध्यानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षले नेता जिसीलाई कानुनी कारवाहि गर्नुपर्ने माग गरेका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्