चिसोमा कठ्यांग्रिँदै स्कुलमा बित्यो अग्निपीडितको रात



कालिकोट : पलाँता गाउँपालिका–१ खाडाको न्यौपानेवाडाका आगलागीपीडितको पहिलो रात कठाग्रिँदै स्कुलमा बितेको छ । सोमबार बिहान भएको आगलागीमा ८७ घर जलेर नष्ट भएका खाँडागाउँ न्यौपानेवाडाका स्थानीयले नजिकैको गणेश आधारभूत विद्यालयमा रात बिताएका हुन् । 

वडाध्यक्ष मानबहादुर भण्डारीले पीडितहरूलाई नजिकैको स्कुल र नजलेका घरमा रात बिताएको बताए । ‘न्यानो कपडा केही पनि थिएन । पीडितहरूले विद्यालय र नजलेका घरगोठमा चिसो रात बिताएका छन्,’ उनले भने, ‘उनीहरूलाई अबका दिन र रात कसरी बिताउने भन्ने चिन्ता छ ।’

सामूहिक खाना खाए

अग्निपीडितलाई सोमबार बेलुका र मंगलबार बिहान गणेश आधारभूत विद्यालयको प्रांगणमा सामूहिक रूपमा खाना बनाएर खुवाइएको छ । नजिकै घोडेना कुवाको खानेपानी ल्याएर नेपाली सेना, नेपाल प्रहरी र स्थानीय कार्यदलले सामूहिक रूपमा खाना बनाएर खुवाएको वडाध्यक्ष भण्डारीले बताए । 

खाद्यान्न र कपडाको समस्या

घरमा भएका सबै लत्ताकपडा जलेका कारण अग्निपीडितलाई खाना र न्यानो कपडाको समस्या छ । ओड्ने, ओछ्याउने, लगाउने लुगा र घरमा रहेको खाद्यान्न जलेका कारण समस्या भएको हो ।

घरमा भएका सबै सामान जलेका कारण चिसोमा ओड्ने–ओछ्याउने मात्र होइन, शरीरमा लगाउने लुगाको समस्यासमेत रहेको स्थानीय कर्णाखर न्यौपानेले बताए । ‘शरीरमा लगाउने केही छैन,’ उनले भने, ‘खाना र कपडाको समेत समस्या भयो ।

पुनर्निर्माण एक महिनाभित्र

गाउँपालिकाले आगलागीपीडितलाई एक महिनाभित्र घर पुनर्निर्माण गरिसक्ने जनाएको छ । स्थानीय कार्यदललाई एक महिनासम्म पुनर्निर्माणको जिम्मा लगाउने गाउँपालिकाले तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले एक महिनाभित्र जलेका घरको पुनर्निर्माण गरिसक्ने तयारी थालेको बताए ।

चार हेलिकोप्टर राहत सामग्री पुग्यो

घटनास्थलमा सोमबार र मंगलबार बिहान गरी चार हेलिकोप्टर राहत सामग्री पुगेको छ । राहत सामग्रीमा त्रिपाल, खाद्यान्न, भाँडाकुँडा र न्यानो कपडा रहेको र पीडितको परिवारको नामावली र अवस्था हेरेर वितरणको तयारी भएको वडाध्यक्ष भण्डारीले बताए । ‘राहत सामग्री वितरणका लागि अहिले हामी नामावली तयार गर्दै छौँ,’ उनले भने, ‘वितरण सुरु गरेका छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्