नेकपामा कार्यवाहक प्रधानमन्त्री को बन्ने भन्ने अर्को लफडा



काठमडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनको गर्न अन्तिम तयारी गरिरहँदा पार्टीभित्र मन्त्री बन्नेको सूचि प्रधानमन्त्री ओलीले तयार पारिरहेका छन् । यसका लागि नेताहरुसँगको परामर्शलाई घनिभूत बनाएका छन् ।

प्रधानमन्त्री ओलीले भदौ महिनामै मन्त्रीपरिषद हेरफर गर्न चाहे पनि पार्टीभित्रको आन्तरिक समिकरण र चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण त्यतिबेला यसले मूर्तरुप लिन सकेको थिएन । अहिले भने मन्त्रीमण्डल पुर्नगठनको अन्तिम तयारी गरिरहेका प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपति स्वदेश फर्किएलगत्तै मन्त्रीमण्डल फेर्ने कुरा अहिले नेपाली राजनीतिक वृत्तमा चर्चामा छ । यस विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहमत भएका छन् ।

मन्त्रीमण्डल पुर्नगठन गर्ने कुरा लगभग पक्कापक्की भएसँगै अहिले पोर्टफोलियोको विषयले पनि महत्व पाउन थालेको छ । विशेषतः पुर्नगठित मन्त्रिपरिषद्को स्वरुप कस्तो होला ? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको सामुहिक राजीनामाप्रति रुचि देखाएका छन् । यदि पुर्नगठनपूर्व सबै मन्त्रीले राजीनामा दिने हो भने बहालवाला उपप्रधानमन्त्रीहरुले समेत राजीनामा दिनेछन् । त्यसपछि प्रधानमन्त्रीपछिको बरियतामा उपप्रधानमन्त्रीको रहने भन्ने प्रश्न पनि उठेको छ ।

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको थप जिम्मेवारीसहित पार्टी काममा लगाउने कि भन्ने कोणबाट छलफल बढाएको पनि बताइन्छ । तर, उपप्रधानमन्त्री पोखरेलले शित निवासमार्फत आफू प्रधानमन्त्री ओलीको उत्तराधिकारीका रुपमा अघि बढ्न चाहेको बताएको चर्चा छ । उता सामजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितलाई बिदा गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेको श्रोतको दाबी छ ।

यस्तो अवस्थामा नेकपाका महासचिव विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री दिने गरी कुरा शुरु हुन पनि थालेको छ । एकथरी नेताहरुले पार्टी सचिवालय सदस्य वामदेव गौतम वा नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लगेर वरिष्ठ उपप्रधानमन्त्री बनाउन सक्ने अड्कलबाजी पनि काट्न थालेका छन् ।

केही हप्ताअघि मात्रै ग्राण्डी अस्पतालमा उपचार गरेर फर्किएका प्रधानमन्त्री ओली कथं लामो समय उपचारका लागि विदेश बस्नु पर्ने अवस्था आएमा कार्यबाहक प्रधानमन्त्रीका रुपमा पार्टी र सरकार पनि दुबै चलाउने हिसाब हुन सक्ने देखेर प्रधानमन्त्री ओलीका विश्वासपात्र पौडेललाई उपप्रधानमन्त्री बनाउनुपर्ने कुरा पनि चर्चामा आएको छ ।

अहिले पार्टीभित्र विभिन्न खालको टिका टिप्पणी हुने गरेको छ । पार्टीभित्र सभामुखमा सुवास नेम्वाङलाई निरन्तरता दिने छलफल अघि बढिरहेको बताइन्छ । त्यस्तै मन्त्रीमण्डलमा सामेल गर्ने सम्भावित मन्त्रीका लागि नेकपाका नेताहरु धनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खगराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छ । त्यस्तै गरी उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, र हृदयश त्रिपाठीको नाम पनि चर्चामा रहेको छ । उपेन्द्र यादवले बाहिरिन चाहेमा राजपालाई भित्र्याउने सम्भावनाबारे पनि घनिभूत छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्