कर्मचारी समायोजन सूचना आज, संगठन संरचना र दरबन्दी स्वीकृत



 

काठमाडौं:  सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो ।

 

तीनै तहमा संगठन संरचना र दरबन्दी स्वीकृत गरेसँगै सरकारले बुधबार नै कर्मचारी समायोजनका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समय दिएर कर्मचारीलाई समायोजन फाराम भर्ने सूचना निकाल्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । कर्मचारीहरू अब समायोजन प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

 

सरकारले समायोजनको सूचना प्रकाशन गरेसँगै कर्मचारी समायोजनको औपचारिक कार्य बुधबारदेखि नै सुरु हुने मन्त्रालयले जनाएको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ मा तीनै तहको संगठन संरचना र कर्मचारी दरबन्दीको अन्तिम टुंगो लगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण समितिको व्यवस्था गरिएको थियो । सो समितिले विगत एक साताको अवधिमा संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो लगाएर सरकारसमक्ष पठाएको थियो ।

 

मन्त्रालयले सबै कर्मचारीको विवरण राष्ट्रिय किताबखानामा अद्यावधिक गराइसकिएको जानकारी दिएको छ । यसअघि सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी निर्धारण गरिसकेको थियो । अहिले गठन भएको ओ एन्ड एम कमिटीले पुरानै संगठन संरचना र दरबन्दीलाई आधार मानेर नयाँ संगठन संरचना र दरबन्दी निर्धारण गरेको राजधानीमा खवर छ ।

 

जसअनुसार प्रदेश र स्थानीय तहका पदलाई श्रेणीगतबाट तहगत रूपमा लगिएको छ । मन्त्रालयका अनुसार नयाँ संगठन संरचना र दरबन्दीमा स्थानीय तहको दरबन्दी ५७ हजारबाट बढाएर ६८ हजार बनाइएको छ भने संघको ४६ हजार र प्रदेशको २२ हजार बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्