वाइडबडी खरिद प्रकरण : तौलमै एक अर्बको घोटाला



काठमाडौं : नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । उडान भर्दाको अधिकतम तौल (एमटीओडब्लू) २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो । 

सार्वजनिक खरिद ऐनअनुसार बोलपत्रमा उल्लिखित क्षमताको सामान नै खरिद हुनुपर्छ । निगमले आशयपत्र जारी गर्दा एमटीओडब्लू उल्लेख गरेको थिएन । पछि २ सय ४२ को प्रस्ताव छनोट गरी २ सय ३० टनको विमान आयात गरेको हो । कुनै पनि सामानको क्षमतासँगै मूल्यसमेत स्वाभाविक रूपमा घट्ने जनाउँदै अख्तियारका एक उच्च अधिकारीले वाइडबडी खरिद प्रकरणमा एमटीओडब्लूमा बदनियत देखिएको प्रतिक्रिया दिए ।

‘यो विषयमा हाम्रो अनुसन्धान चलिरहेको छ । अहिले नै टिकाटिप्पणी गर्नु हतारो होला,’ उनले भने, ‘तर उडान भर्दाको अधिकतम तौल (एमटीओडब्लू) मा फेरबदल हुँदा मूल्य उही कायम भएकाले अनियमितता गरेको देखिन्छ ।’

वाइडबडी खरिद प्रकरणमा अध्ययन गरिरहेको सार्वजनिक लेखासमितिको उपसमितिले समेत अधिकतम तौललगायत विषयमा अध्ययन गरिरहेको छ । तौलमा कति अनियमितता भएको भन्नेबारे स्पष्ट खाका तयार भइनसकेको स्रोतले जनायो । अख्तियारले समेत १२ टनमा भएको हेरफेर मूल्यको आकारबारे गृहकार्य गरिरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्