पखेटामा कुच्चिएको खत देखिएपछि पहिलो वाइडबडी ग्राउन्डेड



काठमाडौं : दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको नेपाल वायुसेवा निगमको वाइड बडी विमान (अन्नपूर्ण) को पखेटामा डेन्ट (कुच्चिएको खत) देखिएपछि ग्राउन्डेड गरिएको छ । निगमका एक उच्च अधिकारीका अनुसार जहाजको बायाँ पखेटाको अग्रभागमा रहेको स्ल्याट्समा डेन्ट देखिएको छ ।

‘दिल्लीबाट फर्किएको जहाज लगत्तै बैंग्लोरका लागि उड्नुपर्ने थियो,’ निगमका एक वरिष्ठ पाइलटले भने, ‘इन्जिनियरले जहाजमा पोस्ट ल्यान्डिङ चेकअप (निरीक्षण) गर्ने क्रममा डेन्ट देखिएको हो ।’ 

उक्त डेन्ट चरा ठोक्किएर भएको अनुमान गरिएको छ । ‘दिल्लीबाट उड्ने क्रममा चरा ठोक्किएको हुन सक्छ,’ एक इन्जिनियरले भने, ‘काठमाडौंमा अवतरण गर्ने बेला ठोक्किएको भए फ्रेस रगतको दाग देखिन्थ्यो तर दाग नदेखिएकाले दिल्लीमै भएको अनुमान गरेका छौं ।’

निगमले ल्याएका दुइटा वाइड बडी विमानमध्येको यो (नाइनएन एएलवाई) असारमा ल्याइएको पहिलो विमान हो । यो विमानलाई मर्मत नगरी उडाउन नमिल्ने भएपछि बुधबार बेलुकीसम्मका लागि ग्राउन्डेड गरिएको छ । ‘एयरबसलाई इमेल पठाएका छौं, उनीहरूको प्राविधिक सुझावअनुसार मर्मत गर्नुपर्ने हुन्छ ।’

निगमले हाल ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा दुइटा न्यारो र दुइटा वाइड बडी विमानबाट उडान गर्दै आएको छ । यो विमान ग्राउन्डेड भएपछि तीन वटा विमानबाट आठ वटा गन्तव्यमा उडान गर्नुपर्नेछ । ‘एउटा विमान ग्राउन्डेड हुँदा तीन घण्टा हाराहारी डिले उडान गर्नपर्छ,’ निगमका ती अधिकारीले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्