समायोजनका लागि कर्मचारीहरुले २१ दिनभित्र आवेदन दिनैपर्ने



काठमाडौं : सरकारले २१ दिनभित्र समायोजनको लागि आवेदन दिन कर्मचारीहरुलाई निर्देशन दिएको छ । विभिन्न कर्मचारी ट्रेड युनियनहरुले विरोध जनाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना प्रकाशित गर्दै २१ दिनभित्र संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन आवेदन दिन भनेको हो ।

 

“यो सूचना बमोजिम समायोजन हुन आवेदन नगरेमा वा समायोजनका निम्ति तोकिएका सबै प्रक्रिया पूरा नगरेमा वा छनौट गर्नुपर्ने तह छनौट समेत नगरी आवेदन गरेमा सो कारणले मात्र संघ, प्रदेश वा स्थानीय तहमा समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ बमोजिम बाधा नपर्ने व्यहोरा समेत यसै सूचनामार्फत् सूचित गरिएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भनेको छ ।

 

सरकारले संघ, प्रदेश र स्थानीय तहहरुमा कर्मचारी समायोजन गर्न गत मंसिर २३ गते कर्मचारी समायोजन अध्यादेश, २०७५ ल्याएको थियो । अध्यादेश आएपछि केही कर्मचारीहरुले यसको विरोध गर्दै आएका छन् । यसैबीच सरकारले बुधबार सूचना प्रकाशित गर्दै संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन निजामति ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय ऐन, २०६४ बमोजिमका कर्मचारीलाई २१ दिनभित्र आवेदन दिन भनेको हो ।

 

कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट समायोजन डट जिओभी डट एनपीमा रहेको ‘अनलाइन एप्लीकेसन’ मा गई २१ दिनभित्र अध्यादेशले निर्दिष्ट गरेको तह र सम्बन्धित सेवा, समूह र उपसमूहको पदमा समायोजनका लागि आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्