राष्ट्रियसभा बैठक :  कसले के भने ?



काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा बोल्ने अधिकाँश सांसदले समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका छन् । आजदेखि शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि र परिवर्तनबाट पछि हट्न नसक्ने उल्लेख गर्दै प्राप्त उपलब्धिलाई तलमाथि पर्न दिन नहुने बताए ।

 

कम्युनिष्ट दलमाथि अधिनायकवाद लाद्न खोजेको आरोप लागेको बताउँदै उनले नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत गर्न कम्युनिष्ट पार्टीको अमूल्य योगदान रहेको जिकिर गरे । नेता शर्माले सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्ने गुनासो सुनिएको बताउँदै सरकारले गरेका कामको अब परिणाम देखिने बेला आएको बताए । उनले सदनबाट बन्ने कानून लोकतन्त्रलाई संस्थागत गर्न महत्व हुने धारणा व्यक्त गरे ।

 

उनले भने, “भाषा, धर्म र संस्कृति संवेदनशील विषय हुन, संविधानले धर्म निरपेक्षता व्यवस्था गरेको छ, हामी अब कुनै हिन्दू वा क्रिस्चियन राष्ट्र बनाउन सक्दैनौँ ।”बैठकमा नेपाली काङ्ग्रेसका तर्फबाट राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अघिल्लो अधिवेशनमा बाध्यता थियो र सबै प्रकारका विधेयक हतारमा पारित गर्न काङ्ग्रेसले सहयोग गरेको बताउँदै आगामी दिनमा त्यस्तो हुन नदिने बताए ।

 

सरकारले कर्मचारी अध्यादेश ल्याएर संसद्लाई छल्ने प्रयास गरेको आरोप लगाउँदै उनले यो अध्यादेशले कर्मचारीको मनोबल गिराउने काम गरेको बताए । नेता पाण्डेले संसद्का कर्मचारीलाई नै अतिरिक्त काम गरेको सुविधा दिन सरकार तयार नभएको उल्लेख गर्दै कर्मचारीसँग आवश्यक छलफल गरेर मात्र कर्मचारी समायोजन विधेयक ल्याउन माग गरे । मुलुकमा हत्या हिंसा बढ्दै गएको बताउँदै उनले सरकारका क्रियाकलापले जनतालाई निराश बनाएको धारणा व्यक्त गरे ।

 

काङ्ग्रेस नेतृत्वकै सरकारका पालामा पारित भएको सामाजिक सुरक्षा ऐनअन्तर्गत सामाजिक सुरक्षाका कार्यक्रमलाई सरकारले ठूलो हल्लाका साथ लागू गरिएको बताए । नेता पाण्डेले आफूहरु धर्म निरपेक्षताप्रति अडिग रहेको हुँदा कम्युनिष्ट दलले धर्मका बारेमा काङ्ग्रेसलाई पाठ पढाउन आवश्यक नरहेको विचार व्यक्त गरे ।  

 

उनले क्रिस्चियन धर्मको प्रचारमा विश्वभर सक्रिय युनिभर्सल पिस फाउण्डेसन गैरसरकारी संस्थाको कार्यक्रममा नेपाल सरकार सक्रियरुपमा सहभागी भएकोप्रति आलोचना गरे ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता वृषेशचन्द्र लालले अन्तरिम संविधानको व्यवस्थाविपरीत वर्तमान संविधान हतारमा ल्याइएको टिप्पणी गर्दै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने आफ्नो दलको माग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्