चोरी मुद्दाका व्यक्ति अदालतबाटै फरार



काठमाडौं : चोरी मुद्दामा अदालतले धरौटी माग गरेको एक व्यक्ति बुधबार काठमाडौं जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । 

प्रहरी परिसर काठमाडौंले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएको सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।  

विसं २०७२ मा भएको चोरी मुद्दामा अदालतले उनलाई छ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला पहिचान गरी पक्राउ गरिएको थियो ।  

उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । कर्मचारीको मिलेमतोमा उनी फरार भएको हुनसक्ने आशङ्कामा अनुसन्धानसमेत थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्