राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाए: डा. कोइराला



काठमाडाैं: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् । कोइरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको बताए ।

 डा. कोईरालाले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको बताउदै सेनामाथि राजनीति नगर्न सरकारलाई चेतावनी दिए। उनले यो सरकार भ्रष्टाचारको अखडा बनेको बताए ।

गण्डक-टोखा प्रजातान्त्रिक समाज नेपालले राजधानीमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले निर्मला पन्तको मुद्दामा प्रहरी प्रशासन निरिह बनेको अाराेप लगाए। 

संगठनका बारेमा कुरा गर्दै डा. कोईरालाले पार्टीलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका विरुद्ध लाग्ने जुनसुकै तहका भएपनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्काशन गर्नुपर्ने बताए ।

कार्यक्रममा सांसद भिमसेनदास प्रधान, पुर्व सांसदहरु डा. शोभाकर पराजुली, डा. रामचन्द्र अधिकारी, रामबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

"गण्डक-टोखा समाज" गण्डकी अञ्चलबाट काठमाडौंको टोखामा आएर बसोबास गर्ने र प्रजातन्त्रमा आस्था राख्ने व्यक्तिहरुकाे संस्था हो।

प्रतिक्रिया दिनुहोस्