रोकियो ओलीको प्रतिवेदन



काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीको स्थायी समिति बैठकमा बिहीबार झण्डै सवा दुई घण्टा भाषण गरे। उनले सरकार सफल रहेको दाबी गरे। र, बैठकमा प्रस्तुत राजनीतिक दस्तावेज पारित गर्ने प्रस्ताव राखे। तर उनको जवाफले नेताहरुको चित्त बुझेन। तिनले असन्तुष्टि जनाएपछि ओलीको प्रस्ताव स्थगित भएको छ।

 

जारी बैठकमा यसअघि स्थायी समितिका ४७ सदस्यले दस्तावेज र सरकार तथा पार्टी सञ्चालनबारे धारणा र प्रश्न गरेका थिए । ओलीले ती प्रश्नलाई सम्बोधन नगरेको आरोप नेताहरुले लगाए। घनश्याम भुसाल, भीम रावल, वामदेव गौतमलगायत नेताले अध्यक्षद्वयको साझा राजनीतिक प्रस्ताव जस्ताको तस्तै पारित हुन नसक्ने बताए। पारित गर्न खोजिए फरक मत राख्ने उनीहरुको भनाइ थियो ।

 

परिमार्जनको खाका नआए दस्तावेज पारित नहुने अडान नेताहरुले राख्न थालेपछि बैठकमा अर्का अध्यक्ष दाहालले हस्तक्षेप गरे। उनले बैठक शुक्रबार बिहानसम्म स्थगित गरे। बिहीबार दस्तावेज पारित गरेर बैठक सक्ने तयारी थियो। साथै, संगठनात्मक एकताका लागि कार्यदल बनाउने र पुस मसान्तसम्म एकीकरण सक्नेगरी कार्ययोजना समेत बनाइने योजना थियो। दस्तावेज पारित नभएपछि यो कार्यतालिका पछि सरेको अन्नपुर्णमा खवर छ ।

 

आफ्नो भाषणमा ओलीले सरकारका कामको बचाउ गरे। उनले ‘जनताको तहमा सरकारको वाहवाही भए पनि पार्टीभित्र आलोचित हुनुपरेको’ गुनासो गरे। राष्ट्रियता, लोकतान्त्रिक प्रणाली, समृद्धि र समानतासहितको समाज स्थापना, शान्ति र स्थायित्व, सुशासन, विकास र समाजवादको यात्रा सरकारको मिसन भएको ओलीले बताए। ‘वाइडबडी प्रकरणबारे तुरुन्तै छानबिन समिति बनाएर सरकारले अनुसन्धान प्रक्रिया सरकारले चाल्छ।’

 

‘सरकारका सबै मन्त्रीले राम्रो काम गरेका छन्। यो सरकार एकदम चोखो छ। समृद्धिको लक्ष्य पूरा गर्ने ढंगले काम गरेको छ,’ ओलीको भनाइ एक स्थायी समिति सदस्यले उद्धृत गरे, ‘यो सरकारले भष्टाचार गरेको छैन। अपराधी काम कुनै मन्त्रीले गरेका छैनन्। अझ प्रभावकारी ढंगले काम गर्छ।’

 

ओलीले पहिले पनि सरकारको आलोचना हुने गरेको भन्दै आलोचनालाई ठूलो विषय नबनाउन आग्रह गरे। ‘पहिले पनि जनताले वाहीवाही गरेका थिए, पार्टीभित्र आलोचना भएको थियो। अहिले पनि त्यस्तै अवस्था छ। पार्टीभित्र आलोचना, जनताका बीचमा वाहीवाही,’ प्रधानमन्त्रीले भने ।

 

निर्मलाको परिवारले अनुसन्धानमा आवश्यक सहयोग नगर्दा अपराधीनजिक पुग्न नसकिएको उनले बताए। ‘पहिले प्रहरीले अनुसन्धानका प्रमाण नष्ट गरेर गम्भीर कमजोरी गर्‍यो। परिवारले पनि अनुसन्धानमा साथ दिएन। अनसनमा बस्ने, आन्दोलन गर्नेतिर ध्यान केन्द्रित गरे,’ ओलीले भने, ‘सरकार दोषी उम्किन दिने पक्षमा छैन। आवश्यक पर्दा अन्तर्राष्ट्रिय संस्था बोलाएर पनि गर्छु। त्यसो गर्दा परिणाम अलिक ढिला आउन सक्छ। तर दोषी उम्कन पाउने छैनन।’

 

वाइडबडी छानबिन समिति बनाउने

प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणमा तुरुन्तै छानबिन समिति बनाउने पनि बताए। ‘प्रतिपक्षले वाइडवडी खरिदका विषयमा सदनमा कुरा उठायो। उहाँहरुले उठाएका विषयमा सम्बोधन गरिन्छ,’ स्थायी समिति सदस्य पेसल खतिवडाले ओलीको उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘यो विषयमा तुरुन्तै छानबिन समिति बनाएर सरकारले अनुसन्धान प्रक्रिया सरकारले चाल्छ।’ ओलीले पार्टी एकता तलसम्म नजाँदा कमजोरी भएको भन्दै त्यसलाई सच्याउने वाचा गरे। नेतृत्वले पार्टीमा एकाधिकार लागेको आरोपको खण्डन ओलीले गरेनन्।

प्रतिक्रिया दिनुहोस्