ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा अमेरिकी संघीय कार्यालय आंशिक बन्द



अमेरिका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगर्दा संघीय कार्यालयहरू आंशिक रूपमा बन्द भएका छन् । संघीय कार्यालय अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको अधिकारीको भनाइ छ ।

 

अमेरिकी संसद्ले मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्न राष्ट्रपति ट्रम्पले आग्रह गरेको ५ अर्ब डलरबाहेकको बजेट मात्र पारित गर्ने जानकारी गराएपछि ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिँदै आएका छन् । अमेरिकी संसद्ले सीमानामा पर्खाल बनाउनेबाहेकको बजेट मात्रै पारित गरेको छ ।

 

सांसदहरू बजेट छलफलको बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङ्टनबाट बाहिर हिँडिसकेका कारण बजेटमाथि थप छलफल हुन सकेको छैन । उनीहरूलाई मतदानका लागि वासिङ्टन फर्किन थप २४ घन्टा समय दिनुपर्नेछ । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको बैठक बिहीबार बोलाइए पनि थोरै संख्यामा मात्रै सिनेटर सहभागी भएका थिए ।

 

संघीय सरकार मातहतका कर्मचारी पनि सप्ताहन्त र दुईवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन् । तर, कतिपय संघीय कार्यालयका कर्मचारी बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन् ।

 

राष्ट्रपति ट्रम्प भने आफ्नो मागमा अडिग देखिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक भ्रमणका क्रममा पत्रकारसँगको कुराकानीका क्रममा सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताएका छन् । संघीय सरकारी कार्यालय खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको उनले बताए ।

 

राष्ट्रपति ट्रम्पले भने, ‘पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुप¥यो नि ।’ बजेट अभावमा नौवटा मन्त्रालय मातहतका विभाग र दर्जनौं संघीय निकायका काममा कठिनाइ उत्पन्न भएको छ । करिब ४ लाख २० हजार कर्मचारीले बिनातलब काम गरिरहेका छन् भने अरू ३ लाख ८० हजारलाई बेतलबी बिदा दिइएको छ ।

 

ह्वाइट हाउसले कंग्रेसमा डेमोक्रेटिक पार्टीका नेतासँग वार्ता गरिरहेको छ । यद्यपि, वार्ताका क्रममा सीमानामा पर्खाल लगाउने बजेट पारित गर्न डेमोक्रेटले कुनै संकेत दिएका छैनन् । वार्तामा सहभागी ट्रम्प निकटका उत्तरी क्यारोलिना राज्यका रिपब्लिकन सांसद मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत् रहेको जानकारी दिए ।

 

सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै सुरु भएको हो । सिनेटमा रिपब्लिकन र डेमोक्रेटबीच फेब्रुअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो । सो सम्झौतामा १ अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो । तर, सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन ।

 

ट्रम्पको आग्रहमा तल्लो सदनले भने ५ अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो । सिनेटबाट सो बजेट पारित गर्न रिपब्लिकन सांसद पर्याप्त छैनन् । सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकि सिनेटमा रिपब्लिकनको सदस्य संख्या ५१ मात्र छ । सिनेटमा डेमोक्रेटले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन् ।

 

सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्ष निकाल्न नपाउँदै सरकारी कार्यालय बन्द भइसकेका छन् । सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्