निर्मला हत्याको दोषी अझै गुमनाम



धनगढी: आरोप स्विकारेका प्रदीप रावल र विशाल चौधरी डिएनए नमिलेर रिहा भएपछि प्रहरीले अझ सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ। ‘हामी सबै कोणबाट र सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौं’, अनुसन्धान अधिकृत कृष्ण ओझाले भने। अहिलेसम्म कुनै भन्न लायक प्रगति नभएको प्रहरीको भनाइ छ ।

 

आरोप स्विकारेका विशाल र प्रदीपलाई पनि दोषी ठहर गर्ने प्रमाण नजुटेपछि सिआइबी नयाँ टोली कञ्चनपुरमा खटिएको छ । सिआइबीका एसपी सुदीप गिरीको संयोजकत्वको समितिले अनुसन्धान गरिरहेको छ। ‘सम्भाव्यता खोज्दैछु , बुझ्नुपर्ने कुरा बुझिरहेका छौं। अनुसन्धान गरिरहेका छौं’, एसपी गिरीले भने, ‘अहिले भनिहाल्न मिल्ने उल्लेख्य प्रगति भएको छैन।’ सिआइबीले सुरुदेखि नै अनुसन्धान नियमित गरिरहेको र यसै क्रममा आफूहरू पनि अनुसन्धानका लागि आएको उनको भनाइ छ ।

 

निर्मला हत्यामा आरोप स्विकारेका भनिएका भीमदत्त नगरपालिका १६ सालघारी बस्ने प्रदीप रावललाई साधारण तारेखमा रिहा गरिएको छ। प्रहरीसँगको बयानमा उनले आरोप स्विकारे पनि डिएनए रिपोर्ट नमिलेको र अन्य जस्टिफाई गर्ने प्रमाण नभेटिएकाले उनलाई काठमाडौं जिल्ला प्रशासनबाट माघ १० गते हाजिर हुने गरी रिहा गरिएको हो। उनका आफन्त काठमाडौंमा कोही नभएकाले शान्तिका लागि साझा अभियानका अध्यक्ष बद्री भुसालले जिम्मा लिएका थिए ।

 

उनले प्रहरीसँगको बयानमा निर्मलालाई उखुबारीमा लगेर बलात्कारपछि हत्या गरेको स्विकारेका थिए। मंसिर १७ गते काठमाडौंबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले आफूसँगै बलात्कार र हत्यामा रहेको भनेर नाम पोलेपछि भीमदत्त नगरापालिका १८ भगतपुरका विशाल चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले दुवैजनामाथि सार्वजनिक मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो ।

 

उनले पनि प्रहरीसँगको बयानमा आरोप स्विकारेका थिए। दुवैजनाको डिएनए रिपोर्ट मेल नखाएपछि गत शनिबार विशाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट बुबा वीरबहादुर चौधरीको जिम्मा लगाइएको थियो। प्रदीप रावलको बयान मिल्दो भएकाले डिएनए रिपोर्ट नमिलेपछि अन्य प्रमाण जुटाउन प्रयास गरेको र अन्य प्रमाण नजुटेकाले एक महिनापछि उपस्थित हुने गरी साधारण तारेखमा रिहा गरिएकोे प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।

 

प्रदीपले निर्मलासँग पहिले देखि चिनजान भएको र आफूले मन पराउने गरेको बयान दिएका थिए । साइकल रोकेको अवस्थामा देखेपछि निर्मलालाई सडकवाट सरप्राइज दिन्छु भनेर काठेपुल तराएर उखुबारीमा लगेर बलात्कार गरी हत्या गरेको उनले बयान दिएको प्रहरीका एक उच्च अधिकारीले बताए। प्रदीपले पनि सुरुका दिन प्रहरीलाई यो बयान दिएको बताएका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्